मेस्सीको दुई गोल, बार्सिलोना क्वाटरफाइनलमा

२८ पुष २०७४, शुक्रबार ०६:३०

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

 

घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे । यो जितसँगै बार्सिलोनाले समग्रमा ६ – १ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो । सेल्टाको मैदानमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो । नाउ क्याम्पमा मेस्सीले दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले खेलको १३ औं र १५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सुरुवाती १५ मिनेट भित्र नै २ – ० को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको अग्रता ३ – ० ले अघि रह्यो । ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए ।

 

पहिलो हाफमा ४ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । सेल्टाबिरुद्ध एकतर्फी खेलेको बार्सिलोनाले ८७ औं मिनेटमा राकिटिकको गोलबाट ५ – ० को अग्रता बनायो । त्यसपछि थप गोल हुन् सकेनन् र खेल बार्सिलोनाले सहजै आफ्नो बनायो ।  कोपा डेल रे अन्तर्गत नै बिहिबार राति दोस्रो लेगमा जित निकाल्दै सेभिया र स्पानियोल पनि अन्तिम आठमा प्रवेश गरेका छन् । योसँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेस र अलाभेसले यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।