जनकपुरमा सहिद कप टी–२० को तयारी

२८ पुष २०७४, शुक्रबार ०४:०६

संजय राउत
पुस २८, जनकपुरधाम । राजपा युवा संघले जनकपुरमा दोस्रो सहिद टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । दुई वर्ष अघि ०७२ सालमा पहिलो पटक आयोजना भएको प्रतियोगिता गत वर्ष मधेश आन्दोलनको कारण गर्न नसकेको आयोजकले जनाएको छ ।

अगामी माघ २७ गतेबाट सुरु हुने साताव्यापी प्रतियोगिताको विजेता टिमलाई एक लाख एघार हजार र उपविजेतालाई ५५ हजार नगद पुरस्कार दिने आयोजकले बिहीबार पत्रकार सम्मेलनगरी जनाएको छ । जनकपुरस्थित बाह्रविघा रंगभूमि मैदानमा हुने उक्त प्रतियोगितामा दुई नम्बर प्रदेशको आठवटै जिल्ला, एक नम्बर प्रदेशको सुनसरी र मोरङ तथा तीन नम्बरको मकवानपुर र काठमाडौंबाट कम्तीमा एक टिमलाई सहभागी गराउने प्रयासमा लागेको आयोजकले जनायो । प्रतियोगितामा भारत, बिहारस्थि मुज्झपरपुर, दरभंगा र मधुबनीबाट पनि एक–एक टिम सहभागी हुने जनाएको छ ।

लिग चरणमा आयोजना गरिने प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । युवाहरु लागु औषधको प्रयोग तथा अपराधिक क्रियाकलापमा पल्किन लागेकालाई खेलकुदको माध्यमले तिनीहरुलाई नियन्त्रण गर्ने मुख्य उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिको आयोजक समितिका संयोजक रुपेश सिंहले जनाए । उनले अगामी दिनमा हरेक वर्ष यसको निरन्तरता दिने प्रतिबद्धता जनाए ।