रुपन्देहीको बेलबास–बेथरी सडक अतिक्रमित घरहरु भत्काउन सुरु

२६ पुष २०७४, बुधबार ११:४१

तेजेन्द्र के.सी.   

पुस २६, बुटवल।

मुलुककै नमूना सडकका रूपमा परिकल्पना गरिएको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्य तिब्र रुपले अगाडि बढेको छ ।

तीन फेजमा काम भइरहेको सडक निर्माण संगै अतिक्रमित क्षेत्रमा घरहरु भत्काउन सुरु गरिएको छ । सडक क्षेत्र भित्र पर्ने बेलबास देखि बेथरी सम्मका ७० वटा घरहरु भत्काउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख कैलाश कुमार श्रेष्ठले नालीको सेन्टरदेखि १८ मिटर भित्र पर्ने दायाँ बायाँ दुवै तर्फका घरहरु भत्काउन सुरु गरिएको बताए ।

नहरका दुवैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनाका साथ निर्माण भइरहेको सडक महत्वपुर्ण आयोजनाको रुपमा रहेको छ । सडक अतिक्रमित क्षेत्रभित्रका घरहरु भत्काउन सुरु गरिएको र सडक क्षेत्रभित्र अन्य मुअव्जा पाउने घरहरु परे नपरेको भने अझै रिपोर्ट कार्यालय सम्म नआएको प्रमुख श्रेष्ठले बताए ।

“७० वटा घरहरु कसैले पनि मुअव्जा पाउदैन, उनीहरु सडक अतिक्रमण गरेर निर्माण गरेका घरहरु हुन ।” उनले भने–“अरु तथ्याङ कार्यालय सम्म आई पुगेको छैन । केही समय अघि नदिजन्य पदार्थहरुको अभाव र रुखहरु कटान नहुँदा केही ढिला भइरहेको सडक निर्माणको काम अहिले तिब्र रहेको उनले बताए । निर्माणधिन सडक भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसँग जोड्ने महत्वपुर्ण आयोजनाका रूपमा लिइएकाले बजेटको अभाव हुन नदिई निर्माण कार्यलाई तिब्र पारिएको उनको भनाई छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल पुग्ने वा विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग निस्किने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक र व्यवस्थित सडकमध्ये महत्वपुर्ण सडकका रूपमा यसलाई लिइएको छ । भविष्यमा यो सडकलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्ने लक्ष्य छ । लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमूना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।अर्थमन्त्री विष्णु पौडेलले ५ वर्षअघि यो सडकको परिकल्पना गरेका थिए । अर्थमन्त्री भएलगत्तै पौडेलले यसअघि नै इस्टिमेट र डिजाइन भइसकेको थियो । पुर्व अर्थमन्त्री पौडेलले शिल्यनास गरेको यो सडक निर्माणको गति भने तिब्र छ ।

बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्रायक खुलिसकेकाले २ बर्षभित्रै काम सम्पन्न हुने अनुमान सडक कार्यालयको छ । यद्यपी निर्माण सामाग्री अभाव र रुखहरु कटान नभएपछि निर्माणको समय लम्बिने देखिएको छ । नहरपुर–मोतिपुर–अमवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिनेछ । दुवैतिर सात÷सात मिटर फराकिला सडक र त्यसबाहिर पौने दुई मिटरको साइकल लेनसमेत बन्नेछ । नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइनेछ । दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउनेछन् । नहरमा बानीको मात्रा बढाई र लामो दूरीको र्‍याफ्टिङ वा बोटिङसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ । करिब २ अर्ब रुपैयाँको लागतम यो सडक निर्माणधिन छ ।