राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

१६ पुष २०७४, आईतवार ०४:४२

पुस १६, काठमाडौं । ४२औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।  आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

 

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो ।  तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।