राष्ट्रपतिबाट तमु ल्होसारको शुभकामना

१५ पुष २०७४, शनिबार ०३:१२

पुस १५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।

तमूल्होसारका अवसरमा आज शुभकामना सन्देशमा उनले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गरिन् ।

तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपतिले यस्ता संस्कृति र चाडपर्वले नेपालको चिनारी विश्वसामु प्रस्तुत हुन मद्दत पुगेको बताइन् ।

 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताएका छन् । आज दिएको सन्देशमा उनले बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।