भारु ३२ लाख भोटोमा लुकाएर ल्याउँदै गर्दा पक्राउ

१४ पुष २०७४, शुक्रबार १०:५४

पुस १४, काठमाडौं ।
भारत र नेपालको खुल्ला सिमानाका कारण धेरै नेपाली र भारतीय नागरिकहरुलाई आवत–जावत गर्न सहज छ । तर यही खुल्ला सिमानाको फाइदा उठाउँदै धेरै मानिसहरु दईनम्बरी धन्दा गर्न अभिप्रेरित हुँदै आएका छन् ।
जतिसुकै टाठो–बाठो बनेर जुक्ति लगाए पनि बोर्डरका सुरक्षाकर्मीहरुको कडा सुरक्षाका कारण अपराधि, दुई नम्बरी धन्दा गर्नेहरु फन्दामा पर्ने गर्छन् ।


यस्तै आज, प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार चौधरीलाई ३२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
चौधरीले शरीरमा कपडाको भोटो बनाएर रकम लुकाएर ल्याएका प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।