विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

१४ पुष २०७४, शुक्रबार ०८:५२

पुस १४, काठमाडौं ।
रुकुम पश्चिम –बाँफिकोट गाउँपालिकाले विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सेवा दिने भएको छ । स्वास्थ्य बिमा तथा उपचार कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने गाउँपालिकाले जनाएको छ ।


जसका लागि विपन्न घरधुरी पहिचानको काम भइरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए । स्वास्थ्य बिमाको लागि निवेदन संकलन गरिएको र अहिले त्यसमा छानबिन चलिरहेको उनको भनाइ छ ।
उनका अनुसार निवेदन दिएकामध्यबाट विपन्न परिवार छनोट गरिनेछ । कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्वास्थ्य बिमा कार्यक्रमको अवधारणा ल्याइएको उनी बताउँछन् ।
यो कार्यक्रम छिटै लागु हुने बताइएको छ । अहिले केही वडा सचिव तालिमका लागि जिल्ला बाहिर रहेकाले विपन्न घरधुरी छनोटको काम बाँकी रहेको र यो कार्यक्रम लागु हुन केही समय लाग्ने केसीले बताए ।