प्रत्येक प्रदेशमा रहने मन्त्रालयहरुको नाम तय

१३ पुष २०७४, बिहीबार ०८:२७

सुर्खेत, १३ पुस ।
सरकारले प्रत्येक प्रदेशमा रहने मन्त्रालयहरुको नाम तय गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने मन्त्रालयका साथै प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक खाका तयार पारेको हो । जस अनुसार प्रदेशको कार्यपालिकाको रुपमा प्रदेश मन्त्रिपरिषद रहनेछ भने अन्तर्गत विभिन्न मन्त्रालय हुनेछन् । तिनमा आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा समाजिक विकास मन्त्रालय छन् । तयार पारिएको सांगठनिक संरचनाको खाका अनुसार मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।‘मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौं’ न्यौपानेले भने, ‘मन्त्रालयको काम हेरेर कुन मन्त्रालयमा कति रहने हो भनेर पछि यकिन हुन्छ ।’ कर्मचारी समायोजन नियमावली नआएकाले मन्त्रालयले अहिले उनीहरुलाई आन्तरिक रुपमा अस्थायी तवरबाट पठाउने न्यौपानेले बताए । न्यौपानेका अनुसार प्रदेश मन्त्रिपरिषद सचिवस्तरको विशिष्ट श्रेणीका र प्रदेश मन्त्रालयमा सहसचिवस्तरका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी खटाइने तयारी गरिएको छ ।