चीनमा १३ हजार बढी वेबसाइट बन्द

११ पुष २०७४, मंगलवार ०८:५५

पुस ११, (रोयटर्स)
चीनले पछिल्लो तीन बर्षभित्र १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।

सन् २०१५ को सुरुवातदेखि हालसम्म उसले देशको कानुन उल्लङ्घन गरेको भन्दै यत्रो संख्यामा वेबसाईट बन्द गरेको बताइएको छ ।

चीन सरकारले साइबरस्पेसलाई सफा बनाउने उद्देश्यसहित चालेको यस कदममा बहुसंख्यक चिनियाँ नागरिकले समर्थन गरेको राज्यको समाचार एजेन्सी सिन्ह्वालवे जनाएको छ ।

पाँच बर्षअघि चिनको शासन सत्तामा वर्तमान राष्ट्रपति सी जिङपिङ आएदेखि नै सरकारले इन्टरनेटमा कडाई गर्ने रणनीति चालिसकेको थियो ।

यस कदमलाई आलोचकहरुले भने वाक स्वतन्त्रतालाई निस्तेज पार्ने र सत्तारुढ कम्युनिष्ट पार्टीमाथि हुने आलोचना दबाउने प्रयास भएको बताउँदै आएका छन् ।

चिनियाँ सरकारले भने सबै देशले इन्टरनेटलाई सुपरिवेक्षेण गर्ने बताउँदै देशको सुरक्षा र स्थायित्वका लागि तथा प्रानोग्राफी र हिंस्रक सामाग्रीलाई नियन्त्रण गर्नका लागि इन्टरनेट नियन्त्रित कानुन ल्याएको बताउने गरेको छ ।