एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइले नतिजा अन्यौलमा

११ कार्तिक २०७४, शनिबार ०१:५१

कार्तिक ११, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा छन् ।

त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । ६ सय ४० कोटाका लागि आईओएमले लिएको प्रवेश परीक्षामा ८ हजार ६ सय ६६ सहभागी थिए ।

प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो ।