अधिवक्ता त्रिपाठीद्वारा प्रहरी महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा दर्ता

८ कार्तिक २०७४, बुधबार ०२:१४

कात्तिक ८, काठमाडौँ। ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको वारेन्ट नोटिसको आदेश पालना नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले यसअघि सात दिनभित्र पक्राउ गर्नु भनी जारी भएको आदेशको कार्यान्वयन नभएपछि मंगलबार उनैले अवहेलना निवेदन दर्ता गराएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई अवहेलनमा एक वर्ष कैद र १० हजार जरिवाना हुनुपर्ने माग गरेका छन् ।

न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार अर्याललाई हदैसम्मको कारबाही माग गरिएको छ। अदालतको सुनुवाइबाट अर्याल दोषी देखिए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। निवेदनमाथि बुधबार सुनुवाइ हुनेछ । निवेदनमा ढुंगेललाई पक्राउ गर्नका लागि विशेष कार्यदल गठन गरी हरेक २४ घन्टामा पक्राउ प्रयासबारे अदालतलाई जानकारी गराउन पनि माग गरिएको छ।

सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता गरिएको छ।  निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ।

साथै, ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठन गर्न आदेशको माग गरिएको छ।   सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानूनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ।