१ कात्तिक, काठमाडौं । चितवनमा २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ ।
तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताएका छन् ।
विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा ९किर्ना० ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।
यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्माको भनाई छ । त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उनले बताएका छन् ।
डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्र्नेगर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस