पूर्वमन्त्री आचार्यको निधन

३१ आश्विन २०७४, मंगलवार ०७:५५

असोज ३१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य समेत रहेका पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ ।

लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो समयसम्म राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए । उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

स्व. आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व. आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उनको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन् । (रासस)