एफसी एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग हार

२४ आश्विन २०७४, मंगलवार १६:४९

असोज २४, काठमाडौं । एफसी एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग हार व्यहोरेको छ । छनौटको आफ्नो चौथो खेलमा ताजकिस्तानसँग पराजित भएपछि एशिया कप खेल्न नेपाललाइ कठीन भएको छ ।

मंगलबार भएको अवे खेलमा नेपाल ताजकिस्तानसँग ३–० पराजित भएको हो । ताजकिस्तानले तीनै गोल पेनाल्टीमा गरेको थियो । २० औ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो ।

त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो । ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिएको छ । चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।