थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी

२० आश्विन २०७४, शुक्रबार ०३:५४

बैंकक (रासस÷सिन्ह्वा) । थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको समाचार छ ।

थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाचारको पुष्टी गर्नुभएको राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए । पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उहाँ अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन् ।

 

पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।