वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरणका कारण मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो

२० आश्विन २०७४, शुक्रबार ०२:५२

असोज २०, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ ।

नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् ।

 

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार १५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा मोदीको प्रस्तावि भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।