भदौ २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्री र राज्यमन्त्री नियुक्तिको जानकारी प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा दिइसकेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ भने भोलि मात्र हुनेछ । राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीको पठाएको छ ।
राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् । रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री पनि मागेको थियो तर, प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । ‘भोलि विहान ११ बजे सपथ तय भएको भएको उनले जानकारी दिए ।
भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको छ, जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।