राप्रपा (प्रजातान्त्रिक) सरकार जाने निर्णयसंगै देउवा सरकारमा ५६ सदस्यीय हुने

२० भाद्र २०७४, मंगलवार ०९:२०
deuba, breaking news from nepal

भदौ २०,काठमाडौं। राप्रपाबाट विभाजित भइ बनेको राप्रपा (प्रजातान्त्रिक) ले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने निर्णय गर्दै चार मन्त्री र दुई राज्य मन्त्री दाबी गरेको छ।

राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुन तयारी अवस्थामा रहेपनि प्रधानमन्त्री शेबबहादुर देउवाले भने सरकारमा ल्याउने कुनै तयारी गरेका छैनन्।  यसअघि नै इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद गठन गरी रेकर्ड बनाएका देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन इच्छुक भएपनि त्यसको तयारी भने थालेका छैनन्।

प्रमुख प्रतिपक्ष एमालेले आचार संहिता लागू भइसकेको अवस्थामा सरकार विस्तार गर्न नहुने भन्दै विरोध जनाइरहेको छ। निर्वाचन अयोगले गत बुधबारदेखि लागू हुने गरी निर्वाचन आचार संहिता जारी गरिसकेको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आजको मितिसम्म सरकार विस्तारको कुनै तयारी नभएको बताए। ‘यो राजनीतिक विषय भएकाले तत्काल पनि हुन सक्ला,’ उनले भने, ‘ तर आजको मितिसम्म राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउने कुनै तयारी भएको छैन।’ यसकेही केही चरणमा सो विषयमा छलफल भएको उनको भनाइ थियो।

राप्रपाबाट विभाजित भइ गठन भएको राप्रपा प्रजातान्त्रिक भने सरकारमा सहभागी हुने दाउमा रहेको छ। वर्तमान मन्त्रिपरिषद ५० सदस्यीय रहेको छ। बर्तमान सरकार ५० सदस्यीय भएपनि अझै चारवटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन्। उद्योग, वन तथा भूसंरक्षण मन्त्रालय, विज्ञान तथा प्रविधि र शान्ति तथा पुननिर्माण मन्त्रालय मन्त्रीविहीन छन्। ती मन्त्रालय प्रधानन्त्री आफैंले राखेका छन्। तीनै मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई लिने गरी सरकारमा ल्याउने तयारी भएको थियो।

राप्रपा प्रजातान्त्रिकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएपनि एक जनाको नाममा प्रधानमन्त्रीले असहमति जनाएको स्रोतले जनाएको छ। राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा र रामकुमार सुब्बा सरकारमा सहभागी हुने तय भएको थियो।

दीपक बोहोरा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएको भन्दै बोहोरालाई मन्त्री बनाउन नसकिने प्रधानमन्त्रीले जनाएको स्रोतले बताएको छ।  सोही कारण सरकार विस्तारमा ढिला भएको बताइएको छ।

राप्रपा प्रजातान्त्रिका  प्रवक्ता  ठाकुर शर्माले सरकारमा सहभागी हुने विषयमा प्रधानन्त्री र पार्टीभित्रै पनि छलफल चलिरहेको बताए। उनले केही दिनभित्रै पार्टी सरकारमा सहभागी हुने जनाए। ‘अहिले हाम्रो भित्र र प्रधानमन्त्रीसँग पनि छलफल भइरहेको छ,’ शर्माले भने, ‘ अब केही दिनभित्रै राप्रपा प्रजातान्त्रिक सरकारमा सहाभागी हुन्छ।’ पहिलो चरणमा चार जना मन्त्री सरकारमा सहभागी हुने उनको भनाइ थियो।