![north korea, news from nepal, international news from kathmandu nepal, breaking news from kathmandu nepal](http://aayokhabar.com/wp-content/uploads/2017/09/north-korea.jpg)
उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको बताएपछि त्यसको अन्तर्राष्ट्रिय जगतले कडा निन्दा गरेको छ।
प्योङ्गयाङ्गको सबैभन्दा निकट सम्बन्ध रहेको चीनले उक्त परीक्षणको दृढतापूर्वक विरोध गरेको जनाउँदै उत्तर कोरियाले राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेका प्रस्तावहरु मान्नुपर्ने र परमाणु परीक्षण रोक्नु पर्ने भनेको छ।
‘हाइड्रोजन बम परीक्षण पूर्ण सफल’
“उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको बढ्दो दबाबलाई बेवास्ता गर्दै फेरि पनि उक्त परीक्षण गरेको छ। चीन सरकारले यसको दृढतापूर्ण विरोध गर्छ र कडा निन्दा गर्छ,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्ती मार्फत भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमार्फत टिप्पणी गर्दै उत्तर कोरियाका बोलीबचन र क्रियाकलाप अमेरिकाका निम्ति खतरनाक बन्दै गएको बताए। उनले उत्तर कोरियालाई एक दुष्ट देश भन्दै प्योङ्गयाङ्ग चीनकै निम्ति पनि ठूलो खतरा बन्दै गएको बताए।
उपेक्षा
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाको उक्त परमाणु अस्त्रको परीक्षण विरुद्ध उसलाई ‘पूर्ण रुपमा एक्ल्याउने’ गरि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सहित ‘कडा भन्दा कडा प्रतिकृया’ जनाउनु पर्छ भनेका छन्।
जापानका मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिदे सुगाले उत्तर कोरिया विरुद्धको जारी प्रतिबन्धमा पेट्रोलियम पदार्थको व्यापारमा बन्देजलाई पनि समेटिनु पर्ने जनाएका छन्।
रुसले पनि त्यस्तो परमाणु परीक्षणले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताउँदै सबै पक्षको वार्तावाट नै समस्या समाधन खोज्नुपर्ने आवश्यकता औंल्याएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक उर्जा ऐजेन्सीका प्रमुखले उक्त परमाणु परीक्षणलाई ‘एउटा अत्यन्त दु:खलाग्दो कार्य’ का रुपमा व्याख्या गरेका छन्।
युकिया अमानोले भने, ”गत वर्ष गरिएका दुई परीक्षणपछि भएको यो पछिल्लो परीक्षणले अन्तर्राष्ट्रिय समुदायले निरन्तर गरिरहेको मागको पूर्ण उपेक्षा गरेको छ।” बिबिसी नेपालीबाट साभार