असोज ७, काठमाडौं । नवरात्रीको तेस्रो दिन शनिवार दशैंघर तथा शक्तिपीठमा चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। चन्द्रघण्टा भवानी दुर्गाकी तेस्रो रूप हुन्। यिनी स्वर्ण स्वरूपकी शान्त र सौम्य यिनको स्वरूप छ ।
शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको दशवटा हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष आदि शस्त्र अस्त्र रहेका छन्।
भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टाको आराधना गरिन्छ। विधिपूर्वक यिनको आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ।
यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ। नवरात्रको अवसरमा देवीभागवत महापुराण र देवी माहत्म्य दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यो समयमा विभिन्न शक्तिपीठको दर्शन गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ।