दशैँ अगाडि यातायात सञ्चालन नभए कारबाही हुन्छ : यातायात राज्यमन्त्री गुरुङ

१ आश्विन २०७४, आईतवार ०९:४२

असोज १, संखुवासभा । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।

शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आएको राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

 

“ठेकेदारको लापरवाहीका कारण समयमा सडक निर्माणको काम शुरु हुनसकेको छैन भन्ने व्यापक जनगुनासो आएको छ, चाँडो डोजर ल्याएर बाटो निर्माण गर्नुहोस्,”, राज्यमन्त्री गुरुङले भने ।  पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेको जनगुनासो आएपछि राज्यमन्त्री गुरुङ कोसी राजमार्गको प्रवेशमार्ग टुटे देउरालीदेखि मुढे–मामलिङ र लेगुवा–तुम्लिङटार सडक खण्डको अनुगमनमा आएको हो ।

 

सोही अवसरमा सांसद दीपक खड्काले आफूले निर्वाचन क्षेत्र विकास कोषमार्फत वर्षेनी धेरै पैसा विनियोजन गरे पनि समयमा निर्माण सम्पन्न नभएको गुनासो पोखे । पूर्व राज्यमन्त्री खड्काले जिल्ला सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई घच्घच्याउने काम नगरेकाले निर्माण ढिलो भएको बताए । “दशैँ अगाडिसम्म सडक मर्मत कार्य सम्पन्न नभए निर्माण कम्पनी र त्यसमा काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ,”, उनले भने । रासस