घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

१३ भाद्र २०७५, बुधबार ०८:०५

सल्यानमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतोगराँस स्थित राति घरमा सुतेको अवस्थामा दलिन चाँचिदा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएका सबैजना एउटै परिवारका हुन ।

मंगलबार राति ९ बजे तिर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका ६ जना मध्ये ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुवा आमासहित २ छोरी र १ छोराको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।