तिजका गीतहरुमा आवाज विहिन चेली प्रतिनिधित्व हुन सकेको छैन : कृष्ण लेकाली

६ भाद्र २०७५, बुधबार १७:२७

भदौ ६, २०७५ काठमाडौं

कुनै पनि देशको सभ्यता, संस्कृति निर्माण त्यसको विकासमा महिलाहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसका साथसाथै रितिरिवाज, रहनसहन, भाषा, संस्कृति, धर्म जस्ता हाम्रो समाजको विकास क्रममा आउने हरेक पक्ष वा विषयसँग महिलाको भूमिका जोडिएको हुन्छ । पछिल्लो दशकमा विश्व राजनैतिक परिवेशमा समेत महिलाको महत्वपूर्ण भूमिका रहेको तथ्य हाम्रा सामु छन् । हाम्रै परिवेशलाई हेर्ने हो भने पनि नेपालको जुनसुकै राजनैतिक परिवर्तनमा महिलाले खेलेको भुमिका माथि कँहिकतै प्रश्न उठाउने ठाँउ छैन ।

हरेक क्षेत्रमा यस्तो निर्वाह गर्दै आएका हाम्रा चेलीहरुको महान् चाड हरितालिका तिज पर्व नजिक आउादै गर्दा त्यही तिज पर्वलाई विषयवस्तु बनाएर तिजका गीतहरु बजारमा आउने क्रम जारी छ । आज सम्म बजारमा आएका गीतलाई हामी नजिकबाट नियाल्ने हो भने विगत्का बर्षहरुमा भन्दा केहि फरक पाउन सकिने अवस्था पक्कै पनि छ । यसको अर्थ यो होइन कि हाम्रा अहिले बजारमा आएका गीतहरु सबै सकारात्मक सन्देश भनौ चेलीको व्यथा वेदना हाम्रा संस्कृति रहनसहन सँगै हाम्रो समाजको यथार्थ चित्रण गर्न सफल भएका छन् भन्ने पक्कै होइन । तर के भन्न सकिन्छ भने विगत्का बर्षहरुमा भन्दा यस पटक तिज गीत छाडा पन, उत्ताउलापनमा न्यूनिकरण भएको देखिन्छ । यो हाम्रा लागी सुखद् पक्ष हो ।

यसका साथसाथै समाज परिवर्तनशील छ । परिवर्तनलाई आत्मसात् गर्न सकिएन भने हामी जिवित रहन सक्दैनौँ । यो सबै पक्षमा लागू हुन्छ । यसो भन्दैमा परिवर्तनको नाममा हामीले आफ्नै आमाको अस्मिता माथी प्रहार गर्ने अधिकार कहिँपनि कतैपनि कसैलाई पनि छैन भन्ने हेक्का राख्न जरुरी देखिन्छ ।

यस वर्षको तिज गीतका सम्बन्धमा राष्ट्रिय लोक तथा दोहेरी गीत प्रतिष्ठान नेपाल र यसका अध्यक्षको भूमिका निकै प्रशंसनिय रह्यो । यसका लागी म प्रतिष्ठान र अध्यक्ष बद्री पंगेनीलाई धन्यवाद दिन चाहन्छु । म आफैँले धेरै स्टुडियोमा पुगेर तिज गीत रेकडिंग स्टुडियोलाई छाडापन, उत्ताउलोपन हाम्रो समाज र देशमा नकारात्मक सन्देश दिने खालका गीत रेकर्ड नगरीदिन अनुरोध गरिरहेका प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीलाई भेटेको छु ।

त्यसको प्रभाव पनि होला यस बर्षका गीत मा केही सकारात्मक पक्ष भेटीएका होलान् भन्न सकिन्छ । यस बर्षका तिजका गीतमा पनि अधिक गीतहरु मायाप्रेमको सेरोफेरोमा घुमेका भेटिन्छन् भने केहि गीतहरुले हाम्रो समाज, राष्ट्र, राजनैतिक दल यसको नेतृत्वको यथार्थ चित्रण पनि भेटिन्छ ।

तर हरितालिका तिज पर्व लाई त्याग, विश्वास, शक्तिको प्रतिकका रुपमा हेरिन्छ । अर्कोतर्फ शिवजीलाई पाउन हावा पात खाएर कठोर समस्या गरेकी पार्वतीलाई नारदले विष्णु लागी माग्दा पार्वतिका पिता हिमवानले स्वीकृती दिएकोमा दुखित् पार्वतीलाई साथीहरुले भगाएर वनान्तरमा लगे यसरी पार्वती हरिन् हरण गराएकी हुँदा यसलाई हरितालिका पति भनिएको हो । पार्वतीले भाद्र शुक्ला तृतीयाको यसै बालुवाको शिव मूर्ति बनाएर पुग्दा प्रशन्न शिवजी प्रकट भई उनलाई पार्वती पतिका रुपमा वरदान दिएको भेटिन्छ । यसरी तिज ब्रत गर्दा नै पार्वतीको विवाह शिवजीसँग भएको तथा शिव पार्वतीको दाम्पत्य जीवन मंगलमय, सुखमय र सुमधुर रहेबाट पनि तिजको महत्व स्वत प्रष्ट भएको छ । यसकारण पनि तिज पर्वका गीतमा माया प्रेमका कुरा आउनुलाई स्वभाविकै मान्न सकिन्छ ।

यसका सागसाथै तिजका गीतमा हाम्रा चेलीहरुको जीवन भोगाईका यथार्थ चित्रण हामीले पाउन सक्छौँ । तर हाम्रा सर्जक, गायक, गायिकाहरु जसले आफूलाई राष्ट्रको महत्वपूर्ण अंग भन्न रुचाउनु हुन्छ वहाँहरुले आफ्नो दायित्वलाई बिर्सनु भयो कि भन्ने चिँता मात्रै हो ।

किनभने यस वर्ष तिज पर्व जसको महत्व र शान्तिका बारेमा माथि उल्लेख गरीएका विषयबाट पनि प्रष्ट हुन्छ । यस्तो अवस्थामा थुप्रै आउनुपर्ने विषयबस्तुलाई तिज गीतहरुले छुन सकेको देखिँदैन । बलात्कृत चेलीको व्यथा बोक्सीको आरोपमा सहनुपरेको अमानविय व्यवहार बलात्कारपछि हत्या गरिएकी चेलीको कथा अनि विदेशका गल्लीहरुमा नरकिय जीवन मापन गर्न बाध्य पारिएका चेलीको वेदनालाई किन समेट्न सकिएन यो एउटा गम्भीर प्रश्न आज हाम्रा सामु छ । यस जवाफ पानि हामी आफैँले दिनुपर्छ कि पर्दैन सर्जक, गायक, गायिका, सञ्चारकर्मी, नागरिक अगुवा, महिला अधिकारकर्मी सबैले मनन् गर्ने कि नगर्ने ।

कुनै एउटी चेलीको व्यथा मात्र होइन यो त डरलाग्दो तथ्यांक हाम्र सामु बलात्कार पछि मारिन्छन् । जो बलात्कारित हुन्छन् महिला हिंसाको सिकार भएका छन् । यस सँगै भारत, मलेसिया, खाडी मुलुक, ल्याटिन अमेरिकी देशहरुमा नरकिय जीवन बिताउन बाध्य पारिएका छन् । तिजको व्यथा वेदना पनि वा ति चेलीको प्रतिनिधित्व पनि तिज गीतमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसतर्फ सर्जक, गायक, गायिकाबाट समयमा नै ध्यान पुग्न सकेको भए आज ति आवाजविहिन बनाइएका चेली प्रतिनिधित्व तिज गीतले गर्ने सीप यस्तो हुन सकेन । आगामी दिनमा यसतर्फ सोचियोस् । तिज गीत आवाजविहिन चेली प्रतिनिधित्व भेटियोस् । अन्त्यमा जे जति सुधार यस वर्षमा तिज गीतमा देखिएको छ । आगामी वर्षहरुमा अझै परिस्कृत हुँदै हाम्रो मौलिक कला संस्कृतिको संरक्षण गर्न तिजमा गीतहरु सफल हुन सकुन् ।