नेपाली विमानलाई जापान र कोरिया जान सकस

४ भाद्र २०७५, सोमबार १७:४५

दौ ४, २०७५ काठमाडौं । नेपाल वायुसेवा निगमका जहाजलाई जापान र कोरिया जान सकस भएको छ । सुरक्षाको दृष्टिकोणले सुरक्षित हुने अवस्था नभएकाले निगमका हवाईजहाजलाई तत्काल जापान र कोरिया उडान गर्न नपाउने भएका हुन् । युरोपियन युनियन इयुले नेपालका विमान कम्पनीलाई कालोसूचीमा राखेकाले जापान र कोरियाले पनि नेपाल वायुसेवा निगमका जहाजलाई उडान प्रमाणपत्र एओसी दिएका छैनन् ।

निगमले जापान, कोरिया र युरोपसम्मको गन्तव्यलाई मध्यनजर गरेर २ सय ७४ सिट क्षमताका २ वटा नयाँ वाइड बडी जहाज ल्याएको छ । झण्डै २४ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएका जहाज कोरिया र जापान उडाउने योजना तत्कालको लागि रोकिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

‘जापान, कोरिया र साउदी अरबमा हाम्रा जहाज उडाउन अनुमति मागेका छौं, त्यहाँको एअरपोर्टले अनुमति दिएपनि नियमक निकायले दिएको छैन’ पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा निगमका महाप्रबन्धक कंसाकारले भन्नुभयो, ‘उनीहरुले युरोपियन युनियनको यो वर्षको सेफ्टी अडिट कुरेका छन् कि भन्ने हामीलाई शंका लाग्न थालेको छ, उनीहरुले बढी नै बहानाबाजी गरेको जस्तो देखिएको छ ।’