अख्तियारको नजर नेपाल एअरलाईन्स

७ भाद्र २०७५, बिहीबार ०९:२६

अख्तियार दु्रुपयोग अनुसन्धान आयोगको नजरमा नेपाल वायुसेवा निगम परेको छ । नेपाल वायु सेवा निगम भर्खरैमात्र खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद गर्दा रकम दुरुपयोग गरिएको हुनसक्ने भन्दै छानविन सुरु गरेको छ ।
अख्तियारले यसबारे चासो लिदै जहाज खरिदका कागजातहरु समेत माग गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ ।

जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।

यी दुईवटा ‘वाइडबडी’ जहाजको बिक्रीपश्चातको मर्मत सेवा तथा पार्टपूर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टी जस्ता पक्षलाई ध्यान नदिइ बिचौलिया आपूर्तिकर्तामार्फत् एयरबस कम्पनीका विमान खरिद गर्ने कार्य संदेहास्पद देखिएको भन्दै अन्नपूर्णमा समाचार प्रकाशित भएको थियो ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालले जहाज खरिद प्रकरणमा आवश्यक छानबिनका लागि सम्बन्धित निकायबाट खरिदसम्बन्धी कागजात र फाइल झिकाउन परिपत्र गरिएको जानकारी दिए ।

‘प्रराम्भिक छानबिनका क्रममा अख्तियारले पत्र पठाएर कागजात झिकाएको छ । मगाइएका सबै चिज प्राप्त भएपछि बाँकी छानबिन अघि बढ्छ’, प्रवक्ता दंगालले भने, ‘सबै छानबिन सकिएपछि मात्र सत्यतथ्य बाहिर आउने छ ।’