खबरपत्रिका: कन्चनपुरमै फेरी दुईजना बालबालिका बलात्कृत, पानी नचल्ने, सोहि जातकाले बनाएको मुर्ती चल्छ, एसिड पिडित दिदी बहिनीको स्वास्थ्य अवस्था गम्भिर, नयाँ तरकारी बजारको निर्माण अन्तिम चरणमा

३१ भाद्र २०७५, आईतवार ०७:४६

पानी नचल्ने, सोहि जातकाले बनाएको मुर्ती चल्छ

काठमाडौं । मोरङको बुढीगंगा २ टंकिसिनुवारीका रामदास ऋषिदेवलाई यतिबेला माटोको मूर्ति बनाउन भ्याई नभ्याई छ । उनले विराटनगर २ दुर्गाचोकमा सोमबार हुने विश्वकर्मा पूजाका लागि ५० वटा मूर्ति बनाएको हो । मूर्तिमा रंग भर्न र सजाबटका लागि उनलाई दिनरात भ्याई नभ्याई छ । एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्मको विश्वकर्माको मूर्ति बनाएको रामदासले बताए ।

‘केही मूर्ति पहिले नै अर्डर लिएर बनाएको र बाँकी धमाधम बुकिङ्ग भइरहेको छ,’ उनले भने, ‘मूर्ति बेचेर भएको आम्दानीले परिवार पाल्दै आएको छु ।’ उनले विराटनगरको दुर्गा चोक र टंकिसिनुवारीमा दशैंमा भगवतीको मूर्ति बनाउन सम्झौता भइसकेको सुनाए । दुबै ठाउँमा मूर्ति बनाउन ४५ हजारमा सम्झौता भएको उनी भन्छन् । दुबै ठाउँमा १५ वर्षदेखि भगवतीको मूर्ति बनाउँदै आएको रामदासले सुनाए । उनले गणेश चतुर्थी, कृष्णजन्माष्टमी, दिनाभद्री, सरस्वती पूजामा मूर्ति बनाएर बिक्री गर्दै आएको छ । फुर्सदको बेलामा सिमेण्टको समेत मूर्ति बनाउने गरेको उनको भनाई छ । मूर्ति बनाउन उनकी पत्नी बिहाबत्तीदेवी र छोराहरु बच्चु र ध्यानीदासले सघाइरहेको उनले सुनाए ।

सुकुम्बासी परिवारका उनले गरिबीका कारण अक्षर चिन्न सकेनन् तर मूर्ति बेचेर भएको आम्दानीले छोराहरुलाई बोर्डिङ्ग स्कूलमा पढाइरहेको छ । रामदासले जेठो छोरा बच्चु ऋषिदेव कक्षा ८ मा र कान्छो ध्यानीदास कक्षा ४ मा पढिरहेको बताए । ‘मूर्ति बनाउने सिजनमा छोराहरुले पनि सघाउन लगाउने गरेको छु,’ उनले भने, ‘मूर्ति बनाउने कला सिक्नुका साथै ध्यान केन्द्रित गर्ने सीपको समेत विकास गराउनका लागि छोराहरुलाई काममा सघाउन लगाउँछु । यसले पढाइको बेला पूर्ण रुपमा ध्यानकेन्द्रित गरेर पढ्न मद्दत मिल्छ ।’

छोराहरुको पढाई खर्च तिर्दैमा भएको आम्दानी सक्ने गरेको बचत गर्न नसकेको रामदासको भनाई थियो । ‘मूर्ति बेचेर नै जस्ता हालेर घर बनाएको छु,’ उनले भने, ‘मेरो जीवनको एउटै उद्देश्य भनेको छोराहरुलाई ठूलो मान्छे बनाउनु हो ।’ ठूलो मान्छेलाई समाजमा सबैले मानसम्मान गर्नुका साथै इज्जत गर्ने गरेको उनले बताए । ‘म मुसहर समुदायको हुँ र मुसहर भन्ने बित्तिकै जोसुकैले समाजमा हिन भावनाले सम्बोधन गर्छन्,’ उनले भने, ‘समाजमा मेरो मैले छोएको पानी चल्दैन तर मैले बनाएको मूर्तिलाई सबैले पूजा गर्छन् ।’

त्यसैले छोराहरुलाई ठूलो मान्छे बनाएर समाजमा प्रतिष्ठित देख्ने जीवनको एक मात्र उद्देश्य रहेको रामदासले सुनाए । ‘दलित समुदायको जीवनस्तर उकास्नका लागि सरकारी तथा गैर सरकारी संघ संस्था मार्फत वर्षेनी करोडौं रुपैयाँ खर्च भइरहेको छ,’ उनले भने, ‘सरकारी तथा गैर सरकारी संघ संस्थाको कार्यक्रमले मुसहर दलितको जीवनस्तर जस्ताको त्यस्तै छ तर कर्मचारी र गैर सरकारी संघ संस्था चलाउनेको प्रगति दिन दुना रात चौगुणा भएको हेर्दा आश्चर्य लाग्छ ।’

उनले समाजिक परिवर्तनको एक मात्र माध्यम भनेको शिक्षा नै रहेकोले गुणस्तरीय शिक्षाका लागि छोराहरुलाई निजी विद्यालयमा पढाइरहेको बताए । छोराहरुको निजी विद्यालयमा चर्को शुल्क तिर्नु परेकोले अहिलेसम्ममा बचत गर्न नसकेको उनले सुनाए । समाचार कान्तिपुरमा छ ।

कन्चनपुरमै दुई बालिका पुनः बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ । ‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् । ‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुईसातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ ।

अर्की बालिकाकी आमाले भनिन्, ‘उनीहरू डराएर बाहिर कहीं भन्न सकेनन् । मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेकी हुँ ।’ विष्ट सधैं घरमा आइरहने र परिवारसँग समेत नजिकका मानिस भएको उनले बताइन् ।

‘चिनेजानेकै मानिसबाट यस्तो अपराध भयो, उसलाई कडा कारबाही हुनुपर्छ’, बालिकाकी आमाले भनिन् । विष्ट गाँजा चरेसलगायत नशा सेवन गरिराख्ने व्यक्ति भएको स्थानीयले बताए । दुवै बालिका घरदेखि ३० मिनेटको दूरीमा रहेको स्थानीय स्कुलमा कक्षा २ मा पढ्छन् ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए । ‘घटनाबारे बुझ्ने काम भइरहेको छ’, ओझाले भने । दुवै बालिकाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुवै बालिका अलग–अलग परिवारका हुन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनलाई सफलता

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम चितवन प्रथम भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला समिति काठमाडौंले आयोजना गरेको प्रतियोगितामा टिम चितवन प्रथम भएको हो ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कर्भड हलमा भएको प्रतियोगितामा चितवनले ५ स्वर्ण र एक रजत पदक हात पार्‍यो । प्रतियोगितामा ५ वटा स्वर्ण पदक सहित टिम काठमाडौं दोस्रो तथा ३ स्वर्ण र १ रजत पदक सहित टिम भक्तपुर तेस्रो भए । २० स्वर्ण, २० रजत र ४० कास्य गरी कुल ८० पदकका लागि २ सय २ प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सात प्रदेशका २६ जिल्लाका २ सय ५० जना खेलाडीको सहभागिता रहेको समितिका अध्यक्ष विनय महतले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष तर्फ साजन महर्जन र महिला तर्फ समीक्षा बुढाथोकी घोषित भए । सोही अवसरमा रेडियो कान्तिपुरकर्मी तेजेन्द्र काफ्ले सम्मानित भएका छन् । खेलकुदको क्षेत्रमा पत्रकारीता मार्फत योगदन पुर्‍याएको भन्दै रेडियो कान्तिपुरकर्मी काफ्लेलाई सम्मान गरेको हो । कार्यक्रमको समापन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादर विश्वकर्माले खेलाडीको स्तर वृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

नेपालमा हुने विभिन्न प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको वृद्धि विकासका लागि पनि सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । समाचार कान्तिपुरमा छ ।

रिताको बाद्ययता यस्तो विहान कलेज दिउसो रिक्सा चालक

रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् । ‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनले भनिन् ।

चार महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेको छु ।’ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा टाटीले बेरेको र खियाले खाएर मक्काइसकेको कर्कटपाताको छानो भएको उनको सानो झुपडी छ । माइतीले दिएको १० धुर जमिनमा बस्छिन्, जुना कार्की, रिताकी आमा । उनका चार छोरी र एक छोरा छन् । जेठी र माइलीको विवाह भइसक्यो । साँहिली रिता हुन् । कान्छी नितु र छोरा मदन सँगै छन् । नितु ७ र मदन २ कक्षाका विद्यार्थी हुन् ।

रिताका बुवा दुर्गाबहादुर घरबाहिरै हुने भएकाले परिवारको आर्थिक भार पनि जुनाको काँधमा छ ।

‘माइतीले दिएको एक कठ्ठा जग्गामध्ये १० धुर बेचेर श्रीमानलाई सफारी किनिदिएकी थिएँ’, जुनाले भनिन्, ‘केही समय उहाँले कुदाउनुभयो, पछि छाड्नुभयो ।’ अहिले दुर्गाबहादुर बाहिर मिस्त्रीको काम गर्छन् । बुवाले छाडेको सफारी सुरुमा माहिली छोरीले कुदाइन् । अहिले साँहिली छोरी हाँक्दैछिन् । ‘मलाई सफारी चलाउन आउँदैन,’ जुनाले भनिन्, ‘छोरी सानी भए पनि उसले सफारी नचलाए हाम्रो मुखमा माड नै नलाग्ने अवस्था छ ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

नयाँ तरकारी बजारको निर्माण अन्तिम चरणमा

मोरङको विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका १ मा एकीकृत तरकारी तथा फलफूल थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले उक्त बजारको निर्माण कार्य पूरा गरी असोज पहिलो हप्तामा हस्तान्तरण तयारी गरेको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण गरेको हो ।

बजार निर्माणको ठेक्का रमन र लामा जेभी कन्स्ट्रक्शनेले पाएको छ । ठेक्केदार प्रतिनिधि शुभम बोहराले कन्स्ट्रक्शनको माम पूरा भइसकेको बताउनुभयो । ‘प्रशासनिक र अतिथि भवनको सम्पूर्ण कार्य सकेर रंगरोगन अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘तरकारी बजारको सेड लगायतका सम्पूर्ण काम पूरा भएको र विद्युतका लागि वाइरिङ्ग गर्ने काम अन्तिम चरणमा छ ।’ उहाँले गेट निर्माण भइरहेको र असोज लाग्ने बित्तिकै हस्तान्तरण गर्ने बताउनुभयो । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले तरकारी तथा फलफूल थोक बजारमा वर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको बताउनुभयो । उक्त तरकारी बजारले २ दशमलव ५ प्रतिशत वर्षेनी आर्थिक वृद्धि हुने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

‘कुल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त बजार अत्याधुनिक सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुनेछ,’ अर्यालले भन्नुभयो, ‘थोक बिक्रेताको लागि गोदाम सहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्ग मिटर सटर, कृषकले आफ्नो उत्पादन आफै बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भएको छ ।’ बजारभित्र निर्माण भइरहेको तीन तल्ले प्राशनिक भवनमा प्रशासन, म्यानेजर आबास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना तयार भएको प्रवक्ता यादवले बताउनुभयो ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेशिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलारव्याटरी, सिसिटिभी, सुरक्षा गार्ड पोष्ट र गाडी पार्किङ्गको व्यबस्था तरकारी बजारभित्र भएको उहाँले बताउनुभयो । ‘बजार निर्माण भएको जग्गा विद्यालयसँग ५० वर्षका लागि भाडामा लिएर पञ्चपक्षीय सम्झौता भएर निर्माण भएको छ,’ उहाँले भन्नुभयो, ‘तरकारी बजारबाट भएको आम्दानी एकीकृत तरकारी थोक बजार समिति, विराटनगर महानगर र कटहरी गाउँपालिका र विद्यालयले प्रतिशतको आधारमा बाँडफाँड गर्ने सम्झौतामा उल्लेख छ ।’ तरकारी बजारले महानगरबासीले अब विशाक्त तरकारी तथा फलफूल खानु नपर्ने सुबिधा प्राप्त हुने भएको छ ।

तरकारी बजारमा विषादीको अवशेष र हानिकारक रसायन परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै उपकरण खरिद गरेर ल्याएको प्रवक्ता यादवले बताउनुभयो । उहाँले अब चाँडै प्रयोगशालामा उपकरण जडान गर्न विराटनगर महानगरसँग सम्झौता भइसकेको सुनाउनुभयो । प्रयोगशालामा महानगरले दुई जना प्राविधिक उपलब्ध गराउने सहमति भएको उहाँको भनाई छ । बजार समितिले तरकारीको मूल्य समेत निर्धारण गर्ने भएकोले किसान र उपभोक्ता दुबै लाभान्वित हुने भएको छ । यादवले समितिले बजार विश्लेषण गरेर प्रत्येक दिन तरकारीको मूल्य तोक्ने र त्यही मूल्यमा खरिद बिक्री हुने बताउनुभयो । उहाँले यसले किसान र उपभोक्तालाई फाइदा हुने बताउनुभयो । तरकारी तथा फलफूल बजार अत्याधुनिक सुबिधा सम्पन्न भएपनि बिक्री नभएको तरकारी राख्न चिसियान केन्द्रको व्यबस्था गर्न समितिले माग गरेको छ ।

कटहरी गाउँपालिकामा बजार निर्माण भएपनि उक्त बजार विराटनगर क्षेत्रमा नै सिंगिया खोला पारी रहेको छ । महानगरकै उपभोक्ताले उक्त बजार उपयोग गर्ने छ । प्रदेश १ को राजधानी विराटनगरस्थित मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई उक्त बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ । सडकमा लाग्दै आएको हटियाको कर असूलीका लागि माहनगरले चालू आर्थिक वर्षमा ठेक्का समेत लगाएको छैन । विराटनगर महानगरपालिकाले गुदरी, शनी लगायतका केही हटियालाई उक्त थोक बजारमा व्यवस्थापन गरेर महानगरभित्रको ट्राफिकजामलाई सहज पार्ने योजनामा छ । महानगर प्रमुख भीम पराजुलीले गुदरी, महानगरको अगाडि मूल सडकमा लाग्ने शनी हटिया लगायत केही हटियालाई उक्त थोक बजारमा यस वर्ष व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो ।

‘महानगरस्थित प्रत्येक तरकारी हटिया सडकमा नै लाग्ने गरेकोले समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘सडकमा लाग्दै अएको हटियाले ट्राफिक व्यवस्थापन चुनौति बनेको छ र अब प्रदेशको राजधानी समेत भइसकेकोले हटिया व्यवस्थापन नगरि नहुने अवस्था छ ।’ सडकको हटिया व्यवस्थापनको जिम्मेवारी वडाहरुलाई समेत दिएको उहाँले बताउनुभयो । यस बजारले विराटनगरस्थित गुद्दरी हटियाको फोहोर, घुइचो, तरकारीको गाडी पार्किङ्ग गर्ने ठाउँको अभाव लगायतको समस्या समाधान हुने भएको छ । व्यवस्थित तरकारी बजारको अभावमा यहाँ प्रत्येक दिन सडकमा नै साप्ताहिक हाट लाग्ने हुँदा दुर्घटनाको जोखिम हुन्छ ।

साँघुरो ठाउँमा लाग्ने हाटबजारमा कृषक तथा व्यापारीहरुलाई तरकारी तथा फलफूल बिक्रीमा समेत समस्या छ । गुदरीका तरकारी ब्यबसायीहरुले यहाँको सांगुरो ठाउँको विकल्प आवश्यक रहेको अवस्थामा निर्माण भइरहेको तरकारी तथा फलफूल थोक बजार आफूहरुको आशाको केन्द्र रहेको बताए । उनीहरुले यहाँ बाहिरबाट खरिद गरेर ल्याएको तरकारी अनलोड गर्न सडकमा गाडी रोके बापत पनि मासिक रुपमा ट्राफिक प्रहरीलाई मोटो रकम बुझाउनु परेको मार व्यापारी र उपभोक्ता दुबैलाई पर्दै आएको गुनासो पोखे । समाचार कान्तिपुरमा छ ।

यसरी ठगिए किसान मल आयो तर तौल कम

धानको बाला लाग्ने बेला किसानले युरिया मलको चरम अभाव झेले को समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ । समाचार अनुसार ढिला गरी सरकारले ल्याइदिएको छ तर जोख्दा सबजसो बोरामा ताल कम पाइएको छ। सरकारी स्वामित्व रहेको कृषि सामग्री कम्पनीले बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा भित्र्याएको मलका हरेक बोरामा निक कम पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले १० किलोसम्म कम पाएको आफूले सुनेको र गहन अध्ययन गरिरहेको बताए।

भारतको इण्डियन पोटास लिमिटेड ९आईपीएल० बाट खरिद भएको युरिया मलको प्रत्येक ५० केजीका बोरामा पूरा तौल कुनैमा पनि छैन। पछिल्लो समय युरिया मलको चर्को हाहाकार भइरहँदा कम्पनीले आईपीएलमार्फत ३० हजार मेट्रिक टन किनेको थियो। त्यसमध्ये १० हजार मेट्रिक टन भैरहवा आएर बिक्री भइसकेको छ। बाँकी २० हजार मेट्रिक टन ९आठ र्‍याक० मध्ये तीन दिनअघि साढे सात हजार मेट्रिक टन वीरगञ्ज सुख्खा वन्दरगाह आइपुगेको थियो।

चितवन भरतपुरका किसान दामोदर पौडेलले किनेका तीनवटै बोरामा कम तौल भेटिएको बताए। मलको चर्को अभाव भइरहेको अवस्थामा दुई दिनअघि स्थानीय कृषि सामग्री कम्पनीको शाखाले उपलब्ध गराएको थियो। ‘मल आएको सुन्नेबित्तिकै म बिहानैदेखि लाइन बसेर तीन बोरा किनें। त्यसलाई तौल गर्दा प्रत्येकमा डेढ किलोदेखि अढाइ किलो कम पाइयो,’ उनले भने, ‘यस बिषयमा शाखा कार्यालयलाई जानकारी गराइसकेको छु।’

गोरखाको गण्डकी गाउँपालिकाको लोक कल्याण कृषि सहकारीले बिहिबार गजुरीको सहकारीबाट ३० बोरा मल किन्यो। तीमध्ये नमूना रुपमा सात बोरा डिजिटल मेसिनमा जोख्दा डेढदेखि अढाई किलो कम भेटिएको उक्त सहकारीका प्रमुख रमेश नेपालले जानकारी दिए। उनले अन्य पसलका डिजिटल मेसिनमा समेत जोख्दा परिणाम उही हायो। उनले पनि त्यसबारे सहकारीमा जानकारी गराएको बताए।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अजय श्रीबास्तवले भने कम तौल नभएको दाबी गरे। उनले भने, ‘मैले पनि परीक्षण गर्दा बोरामा कम परिमाण भेटिएको फेला पार्न सकेको छैन। पूर्ण तौलकै बोरा हामीले पठाएका छौं,’ उनले भने।

वीरगञ्ज आइपुगेको साढे सात हजार मेट्रिक टन मलमध्ये दुई हजार पाँच सय मेट्रिक टन बिराटनगर, विर्तामोड, इटहरी, लाहान र राजविराज पठाइएको थियो। बाँकी पाँच हजार मेट्रिक टन बीरगञ्जको क्षेत्रीय कार्यालयमै सञ्चित गरी राखिएको छ। मलको चर्को अभाव भएको समयमा नियमित रुपमा बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा मल आउनुपर्नेमा १० दिनको फरकमा आइरहेको छ। यसले गर्दा मलको अभाव सिर्जना भएको हो। अभावमा परेका किसानले नजोखेरै निर्धारितभन्दा बढी मूल्यमा लगिरहेका छन्।

यसअघि पनि पटक–पटक कम तौलको बोरा भेटिंदा पनि कसैमाथि कारवाही भएको छैंन्। कम्पनीको मिलोमतोमा आईपीएलले कम तौलको प्याकि® गरी पठाउने गरेको स्रोतले जनायो। यसअघि आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टु गभर्मेन्ट’ सुविधाअन्तर्गत भित्र्याइएको युरिया मलको बोरामा औसत तीन किलोदेखि १० किलोको हाराहारीमा कम तौंल फेला परेको थियो।

अन्नपूर्ण पोष्टले समाचार लेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कृषि विकास मन्त्रलायले छानविन गरेका थिए। कम परिमाणमा भेटिएका मलका बोरा पूरा तौलका बनाएर बेचाइएको थियो। स्रोतका अनुसार तौल घटाउँदा करोडौं रुपैयाँको अनियमितता हुने गरेको छ। करिब सात बर्षअघि त्यही आईपीएलको मल कम तौलको पाइएको थियो। सार्वजनिक लेखा समितिले उसलाई कालो सूचीमा राख्न र त्यससँग मल नकिन्न निर्देशन दिएको थियो। सरकारको दबाबमा फेरी त्यही कम्पनीसँग मल किनिदै आइएको छ।

कृषिमन्त्री चक्रपाणी खनालले मलमा ‘काण्डैकाण्ड’ भेटिएको जानकारी दिएका छन्। अन्नपूर्ण पोष्टसँग शनिबार कुरा गर्दै उनले भने, ‘मलमा जति काण्डैकाण्ड कहीं छैन। मल टेण्डर, जिटुजी, खरिद, प्याकि®, आयात, गुणस्तर, बिक्री बितरणसम्ममा बेथिति छ। म यस्ता बिषयमा गम्भिर रुपमा खोजतलास गरिरहेको छु।’

मलमा काण्डैकाण्ड भएकाले कम तौंलबारे आश्चर्य नमान्न उनले भने। ‘बोरामा ४ सयदेखि ५ सय ग्रामसम्म कम भेटिनुलाई क्षम्य मान्न सकिन्छ’, उनले भने, ‘तर अढाई किलोदेखि १० किलोसम्म कम भेटिएको मलाई जानकारी आइरहेको छ। यसमा आश्चर्य मान्नु पर्दैन। छानविन गराइराखेको छु।’ उनले यसमा ठूलो चलखेल भएको उल्लेख गर्दै भने, ‘दोषि जो सुकै र जस्तोसुकै पहुँचवाला भएपनि कारवाहीको दायरामा ल्याउछु।’ खनालले भारतबाट मल आउने बेलामा नाकामै तौलिनुपर्ने बताए।

एसिड पिडित दिदी बहिनीको स्वास्थ्य गम्भिर

भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीको अवस्था गम्भीर छ । रौतहटको चन्द्रपुर–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे एसिड आक्रमण भएको थियो । यो समाचार आजको कान्तिपुरमा छ ।

मंगलबार बेलुका परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गए। घरमा आमा र कान्छी बहिनी पनि थिए। बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ ९पुलहाउस० कुर्न गएका थिए। राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन्। दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो। शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले। सुस्मिताले घटना भएको रात सम्झिइन्, ‘कसले आएर हामीलाई एसिड हानेको हो देखेनौं, हामीलाई त कुन बेला गएर पानीमा डुबौंजस्तो मात्रै भएको थियो।’

बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए। के भएको भनेर उनलाई थाहा थिएन। तेजाब हानेको भन्ने गाइँगुइँ सुनेपछि उनको हंसले ठाउँ छोडयो। उनले त्यो रात सम्झिए, ‘एम्बुलेन्स बोलाउँछु भनेर फोन निकाले हात कामेर नम्बर डायल गर्न सकिनँ, एउटै स्कुटरमा चार तीन जना बच्चालाई राखेर अस्पतालतिर बत्तिएँ।’ जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर भएका हुन्।

सम्झनाको अवस्था निकै गम्भीर भएको उनको उपचारमा संलग्न डाक्टर पीयूष गिरीले बताए। उनले भने, ‘शरीरको ३५ प्रतिशत भाग जलेको छ, घाउ पनि निकै गहिरो छ।×’ २० प्रतिशतभन्दा बढी जलेका बिरामीको ज्यानै जाने जोखिम हुने उनले बताए। एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको छ। उनलाई आईसीयूमा भर्ना गरिएको छ। भेन्टिलेटरमा राखिएको छ। होसमा त छिन् तर बोल्न, खान या केही प्रतित्रिलया दिन सक्ने अवस्थामा छैनन्। शल्यक्रिया गरी उनको जलेको भाग काटेर फालिएको छ। अझै धेरै शल्यक्रिया गर्नुपर्ने अवस्था भएको डा। गिरीले बताए।

सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन। एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ। उनलाई आकस्मिक वार्डमा राखेर उपचार गरिएको छ। ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त भएको डा। गिरीले बताए। उनले भने, ‘भोलि नै उनको अर्को शल्यक्रिया गर्नुपर्नेछ, ठीक हुन लामो समय लाग्छ।

राति घरमै आएर कसले एसिड हानेको भन्नेबारे पीडितका परिवार अनविज्ञ छन्। उनीहरूले गाउँकै प्रहरी कार्यालयमा खबर गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान चलाइरहेको बुबा जादोरलाले थाहा पाएका छन्। गाउँमा जग्गा विषयमा केही व्यक्तिसँग उनको विवाद चलिरहेको थियो। उनलाई तिनै व्यक्तिले छोरीहरूमाथि एसिड छयापेको शंका छ। उनी भन्छन्, ‘तेरो जिन्दगी बर्बाद गरिदिन्छु भनेर धम्की दिइरहन्थे, मैले धम्कीलाई सिरियस्ली लिएको थिइनँ।’ उनीहरूको आर्थिकस्थिति पनि कमजोर छ।

महँगो उपचार खर्चका लागि आफूसँग खर्च नभएको उनले सुनाए। गाउँमा चन्दा उठाउन लगाएर उपचार खर्च जुटाएको उनी बताउँछन्। उनी भन्छन्, ‘ उपचार त जसरी पनि गरौंला, मेरा निर्दोष छोरीमाथि एसिड खन्याउनेलाई कडाभन्दा कडा कारबाही होस्, न्याय होस् हामीलाई।’