जंगली हात्तिले भत्कायो दुई दर्जन घर, धानबाली पनि नष्ट

२९ भाद्र २०७५, शुक्रबार ०८:४७

धनगढी । कञ्चनपुरमा हात्तिको झुण्डले गएराति झोपडि भत्काउनुका साथै धानबाली समेत नष्ट पारेका छन् । जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा शिविर बनाएर बसोबास गर्दै आएका करिब दुई दर्जन बढी सर्वसाधारणका झुपडिहरु हात्तिले नष्ट पारिदिएका छन् । साथै उनीहरुको धानबाली समेत जंगली हात्तीले गएराती खाएर नष्ट पारिदिएका हुन् ।

शिविरका दिलबहादुर चौधरीको झोपडी हात्तीको झुण्डले भत्काइ दिएको छ । झोपडीभित्र भण्डारण गरेर राखेको अन्न सबै हात्तीले खाएको छ ।

झोपी भत्काउन थालेपछि स्थानीयबासिन्दाले भागेर ज्यान जोगाएका छन् । ‘रातभर आगो बालेर र हो हल्ला गरेर अन्य झोपडी जोगाएका छौं।’ स्थानीय नर बहादुर ढुङ्गालले भने, ‘लगाएको अन्नत हात्तीको झुण्डले खाएर नष्ट पारेपछि साँझ विहानको खाना जुटाउन गाह्रो त भएकै छ । परिवारको ज्यान जोगाउन समेत मुश्किल हुन थालेको छ ।’

गत वर्ष समेत हात्तीको झुण्डले यस क्षेत्रका दर्जन बढी बासिन्दाको झोपडी भत्काएर अन्न सबै खाएर नोक्सानी गरेको थियो । ज्यान जोगाउनका लागि र अन्न शुरक्षित तरिकाले राख्नका लागि स्थानीयबासिन्दालले छिमेकी गाँउमा शरण लिनु परेको थियो । तारापुर शिविरमा निकुञ्जको विस्तारित क्षेत्र बाट विस्थापनमा परेका सात दर्जन बढी परिवार बर्षौ देखि बस्दै आएका छन् ।

यसैगरी निकुञ्जबाट आउने हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका कृषकले ६ विघा लगाएको धानबाली नष्टको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थाीले बताए । उनका अनुसार हात्तीको बथानले आइतबारदेखि बुधबारसम्म ६ विघामा लगाएको धानबाली नष्ट गरेको हो ।

मंगलबार रातीमात्रै गर्जमनी क्षेत्रमा हात्तीको बथानले ४ विघामा लगाएको धानबाली नष्ट गरेको छ । गर्जमनीका बासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मिनबहादुर रावल र अर्जुनदेव भट्टलगायत २० जना कृषकको ४ विघामा लगाएको धानबाली नष्ट गरेको प्रहरी निरीक्षक अवस्थीले बताए । हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको गर्जमनीका बाशुदेव भट्टले बताए । उनकाअनुसार निकुञ्जबाट आउने हात्तीको बथानले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ ।

‘लगाएको अन्नबाली भित्र्याउने वेला जंगली जनावरले खाइदिन्छ, हामीले सधै बजारबाट अन्न खरिद गर्नुपर्ने बाध्यता छ ।’ उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा लगाएको अन्नबालीमा हात्तीले प्रत्येक वर्ष क्षति गदै आएको छ ।