विभिन्न घटनाका पीडितलाई नगरपालिकाले वितरण गर्यो चार लाख सहयोग

४ आश्विन २०७५, बिहीबार ०८:०८

रुकुम पश्चिम । चौरजहारी नगरपालिकाले विभिन्न घटनाका पिँडित घरपरिवारलाई चार लाख २० हजार आर्थिक सहयोग वितरण गरेको छ । नगरपालिकाले २०७५ साल वैशाख देखि भदौ अन्तिमसम्म नगरपालिकामा घटेका घटनाका ३९ पीडितलाई नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

पीडितलाई राहतस्वरुप तीनदेखि २० हजारसम्मको आर्थिक सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारले बताउनुभयो । “पाँच महीनाको अवधिमा नगरपालिकाभित्र विभिन्न प्रकृतिका घटना घटे, नगरपालिकाले १४ वटै वडाका केही घटना पीडितलाई थोरै भए पनि आर्थिक सहयोग गरेको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले वर्षाका कारण घर भत्किएका, आर्थिक अवस्था कमजोर भएका, गाडी दुर्घटनामा परेका, पशुचौपाय मरेका लगायतका पीडितलाई आर्थिक सहयोग गरेको हो । तर पूर्ण घर भत्किएका, आंशिक घर क्षति भएका, आगजनीबाट क्षति भएका पीडितलाई भने आर्थिक सहयोग गर्न नसकिएको बताइएको छ । यसका लागि जिल्ला समन्वय समिति, प्रशासन, प्रदेश र केन्द्र सरकारसँग आर्थिक सहायताका लागि माग गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार विभिन्न निकायको सहयोग प्राप्त भएको खण्डमा नगरपालिकाका सबै पीडितले आर्थिक सहयोग पाउने भएका छन् । यसपटकको अविरल वर्षाका कारण चौरजहारी नगरपालिकामा चार करोड ६९ लाख ६३ हजार ४ सय बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।