विहिबार तीन घण्टा आकाश अवरुद्ध हुदै

१४ भाद्र २०७५, बिहीबार ०८:२१

विहिबार करिब ३ घण्टासम्म आकाश अबरुद्ध हुने भएको छ । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आकाश अबरद्ध हुन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउने भएकाले उनीहरुको् सुरक्षालाई मध्यनजर गर्दै विमानस्थल बन्द गर्न लागीएको हो । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउदै छन् ।

यसको लागि अहिले ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान तथा अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुनेछ । बाँकी बिशिष्ट व्यक्तिहरु फर्किने दिन शनिबार बिहान पनि केहीबेर उडान र अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ ।

दोहा र साउदीका कामदारको आवत जावत प्रभावित
बिमस्टेक बैठकका कारण विमानस्थलमा हवाई उडान प्रभावित हुँदा देश भित्र तथा विदेशका बिभिन्न ठाउँ उड्ने र बाहिरबाट काठमाडौं आउने सबै यात्रुलाई असर गर्छ नै ।

त्यसमा पनि वैदेशिक रोजगारीमा जाने र फर्किनेहरुलाई बढी असर पर्न सक्छ । किनभने बिहीबार विमानस्थल बन्द हुने तीनघण्टाको अवधिमा नेपाली कामदार ओहोरदोहोर गर्ने देशहरुमा उडान तथा अवतरणको तालिका छ ।

विमानस्थलको नियमित तालिका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म ओमानको मस्कट, कतारको दोहा, साउदीको दमाम, कुवेतको कुवेत सिटी तथा युएईको शारजाह र दुबईबाट आएका जहाज काठमाडौंमा अवतरण हुने गर्छन् ।

यस्तै यही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट ओमनको मस्कट, दोहा, दुबई, शारजाह, कुवेत सिटी र मलेसियाको क्वालाम्पुरमा उडान हुने गर्छ । यही तालिका अनुसार तपाईँको हवाई यात्रा तय भएको छ भने उडान तथा अवतरण ढिलो हुन सक्छ ।