स्थानीय तह निर्वाचनमा शीर्ष नेताहरुले कहाँकहाँबाट मतदान गरे ?

३० बैशाख २०७९, शुक्रबार १७:४२

स्थानीय तह निर्वाचनका लागि  मतदानमा मुख्य राजनीतिक दलका नेताहरुले विभिन्न स्थानबाट मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गरेका छन् । देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रको बुथ ‘क’ बाट मतदान गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरे ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरे ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका थिए । सो केन्द्रमा उनले पहिअलो मतदान गरेपछि मतदान सुरु भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए ।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरे ।

काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले महानगर–१६ स्थित युवक माविबाट मतदान गरेकी थिइन् । उनीसँगै कांग्रेस नेता कांग्रेस नेता प्रकाशमान सिंहले पनि सोही स्थानमा मतदान गरेका थिए ।

यसै गरी काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्रअनुसार साइत हेरेर ११ बजेर ३ मिनेटमा काठमाडौं ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका थिए ।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले इलाम नगरपालिका–७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए भने अर्का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका छन् भने एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ्को मैवाखोला गाउँपालिका–३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले विराटनगर महानगरपालिका स्थित आदर्श विद्यालयमा मतदान केन्द्र्रमा मतदान गरेका छन् ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुख पदकी उम्मेदवार रहेकी माओवादी नेतृ रेनु दाहआलले भरतपुर– १४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित राम प्रसाद मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले इलामको इलामको इलामको सूर्योदय नगरपालिका वडा न ९ करफोकको शारदा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान मतदान गरेका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका छन् ।

राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।