स्थानीय तहको निर्वाचन आज

३० बैशाख २०७९, शुक्रबार ०७:००


मुलुक संघीयतामा गइसकेपछि आज (शुक्रबार) दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदै छ। निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन्।

जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन्। बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेका छ। आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।

सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्। कुल उम्मेदवारमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख (मेयर) र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन्।

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ।

निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ। आयोगले निर्वाचनमा ६५ हजार ८६५ स्वयमसेवक पनि खटिएका जनाएको छ। निर्वाचनमा ५ हजार पर्यवेक्षकहरुले पर्यवेक्षण गर्दैछन्।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन्।

प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगर र ८८ गाउँ गरेर १३७, मधेसमा १ महानगर, ३ उपमहानगर, ७३ नगर र ५९ गाउँ गरी १३६ तथा बागमतीमा ३ महानगर, १ उपमहानगर, ४१ नगर, ७४ गाउँ गरी ११९ पालिकाहरु छन्।

यस्तै गण्डकीमा १ महानगर, २६ नगर र ५८ गाउँ गरी ८५, लुम्बिनीमा ४ उपमहानगर, ३२ नगर र ७३ गाउँ गरी १०९, कर्णालीमा २५ नगर र ५४ गाउँ गरी ७९ तथा सुदूरपश्चिममा १ उपमहानगर, ३३ नगर र ५४ गाउँ गरी ८८ पालिकाहरु छन्।

आयोगले प्रदेश १ मा १ हजार १५७, मधेसमा १ हजार २७१, बागमतीमा १ हजार १२१, गण्डकीमा ७५९, लुम्बिनीमा ९८३, कर्णालीमा ७१८ र सुदूरपश्चिममा ७३४ वडाहरू रहेका जनाएको छ।

आयोगले निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र तथा बागमतीमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र तोकेको छ।

यस्तै, गण्डकीमा १ हजार २५३ मतदान स्थल र २ हजार ३०० मतदान केन्द्र, लुम्बिनीमा १ हजार ६२९ मतदान स्थल र ३ हजार ८२ मतदान केन्द्र तोकिएका छन्।

आयोगले कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र तथा सुदूरपश्चिममा १ हजार १३५ मतदान स्थल र २ हजार १०३ मतदान केन्द्र तोकिएको जनाएको छ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्।