अमेरिकी राजनीतिमा प्रवेश गरे ज्ञवाली अब के होला ?

३ माघ २०७८, सोमबार १०:३६

काठमाडौं । नेपाली आप्रवासी समुदायको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सस राज्यको युलेस सिटी काउन्सिलमा अर्का नेपालीले उमेदवारीको घोषणा गरेका छन् ।

आउँदो मे महिनामा हुने सिटीको चुनावमा युलेस निवासी मोहन ज्ञवालीले उमेदवारीको घोषणा गरेका हुन् । शनिबार अपरान्ह नेपाली समुदायका अगुवाहरु र सञ्चारकर्मीहरु बीच ज्ञवालीले सिटी काउन्सिलको प्लेस–३ का लागि उमेदवारी घोषणा गरेका छन् ।

यसअघि गत जुन महिनामा भएको निर्वाचनको प्लेस–६ मा नेपाली समुदायकै टीका पौडेल निर्वाचित भएका थिए । युलेस सिटीका ६ जना काउन्सिल मेम्बरमध्य हरेक वर्ष २ जनाको लागि चुनाव हुने गरेको छ ।

चुनावमा युलेस सिटीका सबै ३७ हजार मतदाताले मत प्रयोग गर्न पाउँछन् ।
सन् १९९६ देखि अमेरिका बस्दै आएका ज्ञवाली लामो समय चौबिसै घण्टा जागा रहने न्यूयोर्क शहर बसे । उनी केही वर्षअघि न्यूयोर्क छाडेर टेक्सस सरेका हुन् । न्यूयोर्कमा छँदा स्थानीय रुपमा निकै सकृय र सहयोगी ज्ञवालीको उमेदवारीले अमेरिकाको नेपाली समुदाय फेरि एकपटक तरङ्गित भएको छ । उनी टेक्ससको युलेस सरेर पनि सामुदायिक तथा स्थानीय राजनीतिमा निकै सकृय भएर छोटो समयमै स्थापित भएका छन् ।

‘सिटीले आफ्नो क्षेत्रभित्र रहेर गर्ने कार्यहरु निकै सिमित हुन्छन् । म त्यही सीमाभित्र रहेर सडक, पूर्वाधार, पार्क, खोल मैदानको विस्तार तथा सुधारमा आफुलाई केन्द्रित गराउनेछु’ आफ्नो एजेण्डा प्रस्तुत गर्दै ज्ञवालीले भने । आफूले आप्रवासी समुदाय र स्थानीय समुदायको भावना, आवश्यकतालाई लिएर सिटीमा कार्यक्रमहरु अघि सार्ने पनि उनले बताए ।

कार्यक्रममा ज्ञवालीको उम्मेदवारी र अमेरिकी राजनीतिमा प्रवेशलाई लिएर सहभागीहरुले खुसी व्यक्त गर्नुका साथै सहयोगको लागि प्रतिवद्धता जनाएका छन् । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्तले ज्ञवालीलाई परिपक्व सामाजिक अभियन्ताको संज्ञा दिँदै अमेरिकी राजनीतिमा प्रवेश गर्न चाहनेका लागि सहयोग गर्न छुट्टै टास्कफोर्स गठन हुन लागेको जानकारी दिए । ‘आर्थिक वा अन्य सहयोगका लागि पनि एनआरएन प्रतिवद्ध छ । हामी यसमा सकारात्मक छौँ’ पन्ते भने ।

आउँदो मे ७ तारिकका सिटी काउन्सिलको चुनाव हुँदैछ । मतदानका लागि अप्रिल २५ देखि मे ३ तारिकसम्म अग्रीम मतदान गर्न पाउने व्यबस्था पनि रहेको छ । अमेरिकी चुनावमा मत हाल्न कानुनले योग्य ठहरिएकाहरुलाई मतदाता सूचिमा समावेश हुनका लागि समेत आह्वान गरिएको छ ।

यही जनवरी ३१ सम्म मतदाता सूचीमा नाम दर्ता गर्न सकिन्छ । अमेरिकाको चुनावमा अमेरिकी नागरिकता प्राप्त व्यक्तिले मात्र भोट हाल्न पाउँछन् ।

साभार : हिमालयन खबर