कुटपिटबाट गम्भीर घाइते भएका ५६ वर्षीय भण्डारीको उपचारको क्रममा मृत्यु

३० पुष २०७८, शुक्रबार १३:२८

काठमाडौं । कुटपिटबाट गम्भीर घाइते भएका अजयमेरु गाउँपालिका–६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।

लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीले भागेश्वर गाउँपालिका६ राडिलमा बुधबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिव्यपुरबाट खटिएको प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।