रक्सीको मातमा गरे सेनाका मेजरले मध्यरातमा गरे हंगामा

२३ कार्तिक २०७८, मंगलवार १२:४१

 


कैलाली । गत आइतबार लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनानी ९मेजर० अशोकजंग शाही नजिकैको चिसापानी बजार पुगेका थिए।

उनी आफ्नो बागमती प्रदेश ०१ ००२६ च ३४६१ नम्बरको गाडी चलाएर राति चिसापानी चोक पुगेका थिए। प्रहरीका अनुसार शाही सुरूमा उनी चिसापानीको संगम होटलमा पुगे।

होटलमा सञ्चालक हर्कबहादुर रावल बसिरहेका थिए। मादक पदार्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरे। राति अबेर भइसकेकाले सञ्चालक रावलले शाहीलाई समयबारे अवगत गराए। तर, शाही मानेनन्। उनीहरूबीच विवाद सुरू भयो।

“मेजरसा’ब जान खोजेको होटल अर्कै थियो, तर त्यहाँ पुग्नुभएछ,” कैलाली प्रहरी स्रोतले भन्यो, “केहीबेर विवाद भएछ।”

हो(हल्ला बढ्दै गयो। हल्ला छिमेकसम्म पुगेपछि स्थानीय भेला भए। स्थानीयसमेत भेला भएपछि सेनानी शाही गाडी हाँकेर शिक्षालयतिर गए।

शिक्षालयको गेटमा ड्युटी गरिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई गाडीमा बस्न अह्राए। सिनियर अफिसरले भनेपछि बडुवाल आफूले बोकेको एसएलआर राइफलसहित सेनानी शाहीको गाडीमा चढे।

प्रहरी स्रोतका अनुसार शिक्षालय र चिसापानी बजार एक किलोमिटर टाढा छ। शाही हुद्दालाई लिएर जब चिसापानी चोक पुगे, स्थानीय त्यहीँ थिए। शाहीको गाडी देख्नासाथ स्थानीयले तोडफोड सुरू गरिहाले।

गाडी तोडफोड हुन थालेपछि मेजर शाहीले हुद्दा रावलले बोकेको राइफल खोसेर स्थानीयलाई ताके।

“बन्दुक देखाउँदा स्थानीय भाग्छन् र पुनस् होटल छिर्न पाउँला भन्ने अभिप्राय देखिन्छ,” एक प्रहरी अधिकृतले भने।

मदिराले मातेका शाहीलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गर्न थाले।

“चोकमा झगडा भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुग्यो,” ती प्रहरी अधिकृतले भने, “त्यहाँ पुग्दा मेजरको टाउको फुटिसकेको थियो।”

प्रहरीका अनुसार शाहीमाथि स्थानीयको आक्रोश थपिँदै थियो। त्यसकारण उनको जीवन रक्षा गर्न प्रहरी लाग्यो।

स्थानीयको बीचबाट मेजर शाहीलाई खोसेर प्रहरीले इलाका प्रहरी प्रहरी कार्यालय चिसापानी पुर्‍यायो। तर, आक्रोशमा रहेका स्थानीय प्रहरी कार्यालयतिरै अघि बढे।

मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालयभित्रै ढुंगामुढा गरे। ढुंगामुढाबाट प्रहरी कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय ३०/४० जना थिए। कार्यालयमा ढुंगामुढा हुन थालेपछि प्रहरीले मेजर शाहीलाई त्यहाँ राख्दा झन् स्थानीयको आक्रोस बढ्ने ठान्यो। शाहीलाई राति नै इलाका प्रहरी कार्यालय लम्की लग्यो।

घाइते मेजरलाई उपचारका लागि स्वास्थ्य चौकी लम्कीमा पुर्‍याइयो। उनको टाउकोमा लागेको चोटमा १६ वटा टाँका लगाउनु परेको छ। प्रहरीले उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि संकलन गरिएको छ।

प्रहरीका अनुसार सोमबार स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय जनताबीच चिसापानी प्रहरी कार्यालयमा छलफल भएको थियो।

छलफल हुँदा मेजर शाहीले आफ्नो गल्तीलाई क्षमा दिन अनुरोध गरेका थिए। आफू अर्कै होटलमा जान खोजेको तर उक्त होटलमा पुग्दा विवाद भएपछि आवेशमा आफूले घटना गराएको बताएका छन्।

“मेजर शाहीलाई हामीले सोमबार नै आवश्यक कारबाहीका लागि शिक्षालयलाई जिम्मा लगाएका छौं,” ती प्रहरी अधिकृतले भने।

मेजर शाहीले मच्चाएको हंगामाबारे सैनिक मुख्यालयलाई जानकारी भइसकेको छ। घटना थाहा पाउनासाथ छानबिनका लागि कोर्ट अफ इन्क्वाइरी गठन गरेको सेनाले जनाएको छ।

“घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिसकेको छ,” सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले आयोखाबरसंग भने, “त्यसले भोलि (बुधबार) देखि काम सुरू गर्छ।’

पौडेलले इन्क्वाइरीले दिएको रिपोर्टका आधारमा मेजर शाहीमाथि कारबाही हुने बताए।