खुलामञ्च मासेर सडकमा सभा

१९ माघ २०७७, सोमबार २०:१३

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक मुद्दाहरुले काठमाडौंका सडक तातिन थालेको छ । हरेक दिनजसो कुनै नै कुनै दल वा समूहको विरोध प्रदर्शन, र्‍याली, आमसभा भइरहेको छ । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमै दुई ठूला सभा गरिसक्यो भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत पनि सडकमै छन् ।

२३ माघदेखि त संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा ओली समूह पनि सडकमा आउँदैछ ।

प्रचण्ड–नेपाल समूहले पुस १४ र माघ ९ गते प्रदर्शनीमार्गमा विरोधसभा गरेका थियो भने ओली समूहले सभाका लागि नारायणहिटी दरबार संग्रहालय अगाडिको सडक रोजेको छ ।

ठूला सभाहरु हुँदा उपत्यकाकै ट्राफिक आवागमन दिनभर अस्तव्यस्त हुने गरेको छ । अब हुने सभामा त्यही नियति भोग्नुपर्ने भन्दै दरबारमार्गका केही व्यापारी जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौंमा ‘डेलिगेसन’ जाने तयारीमा छन् । शहरको मुख्य सडकमा सभा गर्न रोक्नुपर्ने उनीहरुको माग छ ।

दरबारमार्गका व्यवसायी ऋषिराम नेवार सडकको साटो खुलामञ्चजस्ता क्षेत्रमा सभा गर्न सुझाव दिन्छन् । ‘जनतालाई दुःख दिएपछि शक्ति देखिने होइन होला । कुनै खुलामञ्चजस्ता सार्वजनिक स्थलहरुमा कार्यक्रम गर्दा भइहाल्छ नि’ उनले भने ।

शक्ति प्रदर्शन गर्न ब्यापारीले भनेजस्तो खुलामञ्च उपयुक्त नहुने तर्क गर्छन् नेकपा ओली समूहका जनसभा परिचालन समितिका संयोजक आनन्द पोखरेल । ‘दरबारमार्गमा गर्दा पश्चिमतर्फ सञ्चयकोषको भवनसम्म र दक्षिणतर्फ जमल घण्टाघरसम्म मान्छे राख्न मिल्छ । डेढ÷दुई लाख मान्छे अट्छन्,’ उनी भन्छन्, ‘खुलामञ्च त अरु ढंगले अकुपाइ भएको छ, कसरी कार्यक्रम गर्नू ?’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको खुलामञ्चको उचित संरक्षण नभएको बताउँछन् ।

फरक विचार राख्नेलाई असुरक्षा हुने अवस्था आयो भने सरकारले सुरक्षाकर्मी परिचालन गरेर विरोध गर्न दिनुपर्छ भन्ने मान्यता रहेको भन्दै उनले भने, ‘खुलामञ्च जस्तो ठाउँहरु सबैलाई चाहिन्छ । विकासको विवाद र ढिलाइ लगायतका के कति कारणले खुलामञ्चमा अवरोध छ, त्यो छिट्टै हट्नुपर्छ ।’

माइतीघर मण्डला, प्रदर्शनीमार्गजस्ता अहिले उपयोग भइरहेका क्षेत्र साँघुरा र सडक भएकाले ठूला कार्यक्रमका लागि खुलामञ्च निर्विकल्प भएको उनको भनाइ छ ।