बुद्ध जन्मभुमी लुम्बिनीमै थपिए नौ संक्रमित ९ जना नै भारतको मुम्बईबाट फर्किएका

३० बैशाख २०७७, मंगलवार १५:२५

लुम्बिनी बौद्ध विश्वविद्यालय, विश्वविद्यालयलाई अहिले क्वारेन्टाइनस्थल बनाइएको छ ।

बुटवल । प्रदेश ५ को रूपन्देहीमा मंगलबार फेला परेका ९ जना कोरोना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका भएको खुलेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा सोमबार पनि दुई जना संक्रमित फेला परेका थिए । उनीहरु नौ जना नै भारतको मुम्बईबाट आएका हुन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित बौद्ध विश्वविद्यालयको क्वारेन्टाइनमा राखिएका मध्येबाटै मंगलबार संक्रमण पुष्टि भएको हो ।

विश्वविद्यालयको क्वारेन्टाइनबाट ६२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएकोमा सोमबार १० जनाको परीक्षणमा २ जना र मंगलबार बाँकीको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । रूपन्देहीमा मात्र संक्रमितको संख्या १६ पुगेको छ । सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ र सम्मरीमाई गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित सबै भारतको मुम्बईबाट बैशाख २० गते देखि २६ गतेसम्ममा क्वारेटाइनमा आएर बसेका हुन् । तिनीहरुमध्ये संक्रमित देखिएकाको विवरण संकलन भइरहेको छ । क्वारेन्टाइनमा सोमबार पनि १ सय ८९ जना थप भएका छन् । स्थान अभाव भएपछि नगरपालिकाले लुम्बिनीमा रहेको श्रीलंकन होटललाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । संक्रमित सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।