आफ्नो धर्म संस्कृति र रितिरिवाजको रक्षा गर्नु हामी सवैको कर्तव्य र दायित्व हो

६ असार २०७६, शुक्रबार १९:३१

बिष्णु प्रसाद शर्मा

केपी ओली नेतृत्वको सरकार दिनप्रतिदिन आलोचित हुँदै गएको छ । सरकारले संसदमा दर्ता गरेका विधेयकका बारेमा यति बेला जनता आक्रोशित छन । सरकारले मिडिया काउन्सिल विधेयक, आमसञ्चार प्राधिकरण विधेयक, राष्ट्रिय मानवअधिकार विधेयक, विश्वविद्यालय विधेयक र गुठी विधेयकलगायत अन्य धेरै विधेयक संसदमा दर्ता गराएको छ ।


लामो समय देखि मिडिया काउन्सिल विधेयकका बारेमा सञ्चार जगतले विरोध गदै आन्दोलन गरिरहेका छन् । अहिले सम्म सरोकारवालाहरुसँग सरकारले वार्ता गर्ने प्रयास गरेको देखिदैन ।
विधेयक ल्याउनुभन्दा अघि सरकारले सम्बन्धित पक्षहरु संग राय सल्लाह लिएर विधेयक निर्माण गरेको भए यो विवाद हुने थिएन । गुठी विधेयकका बिरोधमा जनता सडकमा उत्रिएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेर दिएका अभिव्यक्तिहरु आपत्तिजनक छन् । प्रधानमन्त्रीले आन्दोलनमा पूर्वराजावादीहरु समेत संलग्न भएको बताएका थिए । गुठी विधेयकका बिषयमा नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले समेत विरोध गरेका छन् ।

उपत्यकाबाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुले विरोध गरेका छन् । सांसद पम्फा भुसाल, रामवीर मानन्धर, जीवनराम श्रेष्ठलगायत अन्य धेरै व्यक्तिहरुले विरोध गरेका छन् ।
दुई तिहाईको दम्भ बोकेर मात्र राज्य सञ्चालन हुन सक्दैन । विधेयक ल्याउनु भन्दा अगाडि आफनै पार्टीमा समेत छलफल र्ने नगरिएको भन्दै पार्टीकै नेताहरुले विरोध गरिरहेका छन ।
सरोकारवालाहरुले प्रत्येक दिन मसाल जुलुस प्रदर्शन गरे । प्राचिन कालदेखि चल्दै आएको धर्म संस्कृतिलाई नै नष्ट गर्ने काम सरकारले गर्न खोजेको देखियो । सबै गुठीलाई सरकारी नियन्त्रणमा राख्ने जस्ता प्रावधान विधेयकमा राखिनु धर्म संस्कृतिलाई नष्ट गर्ने नियत प्रष्ट भएको छ ।
गुठी परम्परा सदियौं देखि चल्दै आएको सिंगो समुदायसँग जोडिएको प्रथा मात्र होइन । गुठी परम्परा सदियौँ देखि चल्दै आएको सिंगो नेपालको सम्पदा हो । यसलाई मास्नु भनेको नेपालको सम्पदा र परम्परालाई स्वीकार गर्न नसक्नु नै हो ।
आफ्नो धर्म संस्कृति र रितिरिवाजको रक्षा गर्नु हामी सवैको कर्तव्य र दायित्व हो ।