प्रशासनको कडा निर्देशनपछि खुम्बुमा एसाेसियशनले लिने शुल्क रोकियो

१ बैशाख २०७६, आईतवार ११:५१

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशनपछि खुम्बु क्षेत्रमा होटल एसाेसियशनले शुल्क नउठाउने भएको छ । केही समयदेखि खुम्बु होटल एसाेसियशनले कोठा भाडा बापत पर्यटकहरुसँग  लिदै आएको शुल्क जिल्ला प्रसाशनको निर्देशन पछि होटल आफैले लिने भएको हो ।

होटल व्यवसायीहरुको आग्रहमा होटल एशोसियसनले उठाएको दाबी गर्ने एशोसियसनले अबदेखि शुल्क नलिन गाउँपालिकाले सर्कुलर जारी गरिसकिएको खुम्बु-पासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले बताउनुुभयो ।

उहाँका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नको लागि एसाेसियशन खडा गरी कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पूर्ण व्यवसायी जम्मा भएर बराबर विभाजन गर्ने गरिएको थियो ।

खुम्बुमा पर्यटकलाई आकर्षित गर्न होटलवालाहरुले कोठाकाे भाडा नलिने भन्दै खानाको मूल्य बढी लग्ने गरेकाे भन्दै एसाेसियशनले यस्ताे नियम लागू गरेको थियाे । एसाेसियशन  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा नै दर्ता भएको भए पनि गाउँपालिकाले शुल्क लिने-नलिने विषयमा कुनै पनि अनुमति नदिएको अध्यक्ष शेर्पाको दाबी छ ।

तर होटल एसोसियशनको विधानमा भने यस्ता कुनै पनि शुल्क लिने विषयमा स्पष्ट उल्लेख भएको छैन । कुनै पनि संघसंस्थाले कोठा भाडा या विभिन्न बहानामा जोकोहीसँग रकम लिनु गैह्रकानुनी कार्य भएको भन्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले  त्यसाे गरेकाे पाइए तत्काल पक्राउ गर्न आदेश दिनुभएको थियो । रकम लिने कार्य तत्काल रोकी प्रशासनमा आउन एक हप्ताको समय दिएको भए पनि होटल एसाेसियशनका कोही पनि नआएपछि प्रशासनले कडा निर्देशन गरेको थियो । 

पर्यटकले तिरेको कोठा भाडा विचौलीयाको हातमा

खुम्बु क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रतिपर्यटकको हिसाबले सम्बन्धित ट्रेकिङ एजेन्सीहरुले खान बस्नदेखि घुम्न लाग्ने शुल्क एकमुस्ट पहिले नै लिइसकेको हुन्छ । त्याे रकम सम्बन्धीत ट्रकिङ  एजेन्सीहरुको गाइडले एकमुस्ट बुजेर यात्रा सुरु हुन्छ । तर ती पर्यटक गाइडहरुले होटलहरुसँग बार्गेनिङ गरी कोठा भाडा नलिने होटलहरुमा मात्रै पर्यटकहरु लैजानेको गर्छन् ।

त्यसो हुदाँ पर्यटकले तिरेको कोठा भाडा विचौलीयाले खाने गरेको श्रोतले जनाएको छ । पर्यटकहरुसँग भने पहिल्यै त्याे रकम एकमुस्ट रुपमा ट्रेकिङ एजेन्सीले लिइसकेका हुन्छन् ।

अस्वस्थ प्रतिस्पर्धा हुने खतरा

होटल आफैले शुल्क लिदा आफूखुसी अस्वस्थ प्रतिस्पर्धा हुने खतरा बढी रहेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले बताउनुभएको छ । उहाँका अनुसार होटल आफैले शुल्क लिँदा कतिपयले कोठा भाडा लिँदैनन् भने कतिले आफ्नै ढंगले बढी शुल्क लिने विकृति देखा पर्न सक्छ ।

यदि यस्तो अवस्था सिर्जना भएमा स्थानीय सरकारले नियमन गर्ने उहाँको भनाइ छ । विगतमा पनि अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले होटल एसोसियशनले कोठा भाडा निर्धारण गर्दै आएको उहाँको भनाइ छ । कानुनले सघं सगठनको नाममा रकम लिन नपाइने भए पनि एसोसियशनले कोठा भाडा लिदा भने पर्यटकहरुलाई भने फाइदा हुने गाउँपालिका प्रमुख शेर्पाको दाबी छ ।