मुलुकको समृद्धि र बिकासमा सरकारले जोड दिएको छ : सभामुख

१५ भाद्र २०७५, शुक्रबार ०९:३५

मुलुकको समृद्धिका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने कुरा प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले बताएका छन्। दशौं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसरमा दाङमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, ‘मुलुकको समृद्धिका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण छ। परिवर्तन विरोधी शक्तिहरूले प्रदेश सरकारको कुनै काम छैन भनि भ्रम फैलाइरहेका छन्। यसतर्फ सबै सचेत हुनुपर्छ।’ राज्यको पुनः संरचना गर्दा धेरै छलफल, बहस र पैरवी गरेर मात्रै तीन तहका सरकारको व्यवस्था गरेको भन्दै सभामुख घर्तीले तीनवटै तहको समन्वयमा मुलुकको समृद्धिको यात्रा सफल हुने बताए। ‘हिजो सिंहदरबारभित्र रहेका अधिकार आज स्थानीय तहको माध्यमबाट जनताको घरघरसम्म पुगेका छन्।

आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ’, सभामुख घर्तीले भने, ‘केन्द्रीय सरकार र स्थानीय तहलाई जोड्ने काम प्रदेश सरकारको हो। यो कुरालाई नबुझेर परिवर्तन विरोधीहरूले चलखेल बढाएका छन्। पुनःसंरचनालाई बलियो र दिगो बनाउनका लागि प्रदेश सरकारले बलियो कानुन बनाउने र मुलुकका तीनवटै सरकारको उत्तिकै महत्व रहेको भन्दै सभामुख घर्तीले सबै सरकार बलियो भएमा मात्रै समृद्धिको यात्रा सफल हुने बताए। ‘मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकार बलियो हुनु पर्नेमा घर्तीले जोड दिएका छन । एउटा मात्रै सरकार बलियो हुँदा विकास सम्भव हुँदैन भन्ने विगतको सिकाईबाट पनि सबै सरकारलाई बलियो बनाउनुपर्छ’, सभामुख घर्तीले भने, ‘हामी यही यात्रामा लागिपरेका छौं।

यात्रामा यहाँहरूको साथ र सहयोगको अपेक्षा गरेका छौं।’ मुलुकका तीनवटै सरकार कानुन निर्माणको चरणमा रहेकाले एकसँग अर्काको अधिकार नबाझियोस् भनेर आफूहरू सचेत रहेको भन्दै सभामुख घर्तीले भने, ‘मुलुकको दिगो शासन व्यवस्थाका लागि कानुनको ठूलो हात हुने भएकाले कानुन निर्माण गर्दा अत्यन्तै सचेत हुनुपर्छ। यही मान्यताका साथ हामी लागिपरेका छौं।’ राज्यको पुनःसंरचनालाई दिगो बनाउने अभियानमा मुलुकका तीनवटै सरकार लागिपरेको भन्दै सभामुख घर्तीले प्रदेश सरकारका प्रगति तत्काल नदेखिएको प्रतिक्रिया दिए। प्रदेश ५ कानुन निर्माणको चरणमै रहेको भन्दै सभामुख घर्तीले प्रदेशलाई नमुना बनाउने गरी आफूहरूले कानुन निर्माण गरिरहेको बताए। ‘हामी कानुन निर्माणको चरणमा छौं। प्रदेश ५ सरकारलाई नमुना र उत्कृष्ट बनाउन दिगो र प्रभावकारी कानुन बनाइरहेका छौं’, सभामुख घर्तीले भने ‘हाम्रो एक वर्ष कानुन निर्माणका लागि वहस, छलफल र पैरवी गर्दैमा बितेकाले प्रदेश सरकारका प्रगति देखिएनन् भनेर यसको विकल्प खोजिनु मूर्खता हो।’ पर्यावरण जैविक संरक्षणमा सबै लाग्नुपर्ने भन्दै सभामुख घर्तीले स्थानीय सरकारलाई सवल बनाउने मुख्य स्रोत जैविक र पर्यावरण नै भएको बताए। ‘पर्यावरण र जैविकता पर्यटनसँग जोडिने विषय हुन्। स्थानीय सरकारलाई सवल बनाउन पर्यटनको ठूलो हात रहन्छ’, सभामुख घर्तीले भने, ‘प्रदेश ५ सरकारले पर्यावरण संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ।’