चिलेमा पुरातनवादी नेता राष्ट्रपतिमा विजयी

३ पुष २०७४, सोमबार ०४:५२

पुस ३, काठमाडौं । चिलेमा सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय चुनावमा त्यहाँका पुरातनवादी अर्बपति सेबास्टियन पिन्येराले जितेका छन्।  उनका विपक्षी वामपन्थी धारका यालेखयान्ड्रो गिएरले उनको जित स्वीकार गर्दै बधाई दिएका छन्।

 

कुल खसेको मतको ९८ प्रतिशत गणना हुँदा पिन्येराले ५४ प्रतिशत मत ल्याइसकेका छन्।  यसले देश अब दक्षिणपन्थी विचार तिर लागेको संकेत गर्छ जहाँ समाजवादी राष्ट्रपति मिच्चेल ब्याचएलएटले नेतृत्व गरिरहेकी छन्।  पिन्येराका हजारौं समर्थकहरुले देशभरका सहरहरुमा खुशियाली मनाइरहेका छन्। राष्ट्रपति ब्याचएलएटले पिन्येरालाई फोनमार्फत बधाई दिएकी छन्, जसलाई त्यहाँको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।  उनीहरु दुईले सत्ता हस्तान्तरणबारे छलफल गर्न सोमबार भेटघाट गर्ने सहमति गरेका छन्। उनले गिएरलाई समर्थन गरेकी थिइन्।  अहिले भएको चुनावमा, विदेशमा बसेका नागरिकले समेत पहिलोपटक मतदान गर्न पाउने गरी करिब १ करोड ४० लाख मानिसहरु मतदान गर्न योग्य थिए। यद्यपी मतदानमा निकै कमले मात्रै भाग लिए।

 

यदि धेरै मतदान हुनसकेको भए त्यो गिएरको पक्षमा हुनसक्ने ठानिएको थियो।  अर्बपति व्यापारी पिन्येराले पहिलो चरणको मतदान फराकिलो अन्तरले जितेका थिए जसले गर्दा राष्ट्रपतिको उम्मेदवारको संख्या अन्तिम चरणको चुनावसम्ममा आठबाट दुईमा झरेको थियो।  उनले यसअघि नै सन् २०१० बाट २०१४ सम्म देशमा शासन गरेका थिए।  त्यसले चिलेमा दुई दशक लामो हस्क्षेपरहित मध्य(वामपन्थी शासनको अन्त्य गरेको थियो।  कर घटाउने र अर्थतन्त्र उकास्ने बाचा गरेका पिन्येरालाई व्यापारिक समूदायको समर्थन थियो। –बिबिसि नेपाली