निर्वाचनका लागि डोल्पामा व्यवस्थापनको काम अन्तिम चरणमा

६ मंसिर २०७४, बुधबार ०६:०८

मंसिर ६, डोल्पा । 

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालिम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेका र स्वयंसेवकलेसमेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत विक्रम गिरीले भने,‘जिल्लाको उत्तरी क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्री वितरण गर्ने काम भइरहेको र डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारी धमाधम त्यसतर्फ जान थालेका छन्।,’

उनका अनुसार सदरमुकामदेखि पाँच–छ दिन लाग्ने तिन्जे, मुकोट, साल्दाङ, छार्का, धोलगायतका साविकका गाविसका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सेनाको हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको र तल्लो डोल्पाका मतदान केन्द्रका लागि पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी हिँड्ने तयारीमा छन्।

निवार्चनमा जिल्लामा ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डोल्पामा १८ हजार ९८९ मतदाता छन्।रासस