रविन्द्र मिश्रको रोचक घरदैलो अभियान

कात्तिक १०, काठमाडौं । बिहीबार एकाबिहानै एक दर्जन युवा हातमा प्लेकार्डसहित भेला भए । उनीहरुका साथमा रवीन्द्र मिश्र चियाँ पसलदेखि घरघरमा पसे अनि सबैलाई आफु प्रतिनिधि सभाको उम्मेदार भएको परिचय दिदैँ थिए ।

 

काठमाडौंको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् उनि । आफ्नो चुनावी प्रचारका क्रममा घरदैलोका लागि उनी दलबलसहित त्यहाँ उत्रिएका थिए ।  पाँच मिनेटको दुरीमा रहेको लक्ष्मी दिदीको होटल पुग्न २० मिनेट लाग्यो । बाटोमा करिब एक दर्जन व्यक्तिहरुसँग हात मिलाउन र भोट माग्न भ्याए मिश्रले । कोही उनीसँग अंकमाल गर्थे । कोही फोटो खिचाउँथेँ । कोही चाहीँ ‘ठीक छ, भैहाल्छ नि’ भन्दै पन्छिन्थे । भोट मागेका प्रत्येक व्यक्तिहरुको नाम, ठेगाना र फोन नम्बर मिश्रका कार्यकर्ताले टिप्थे । पर्चा थमाउँथे ।

‘पुरानाले केही गरेनन् अब तपाईंहरुलाई नै भोट दिने हो,’ एक वृद्धले मिश्रको हात समातेर भने, ‘तर, जितेर अरु पार्टीले जस्तो नराम्रो काम नगर्नु बाबु ।’

‘जिन्दगीमा अहिलेसम्म नराम्रो केही गरिनँ, भविश्यमा पनि गर्ने छैन,’ मिश्रले जवाफ दिए ।

मोटरसाइकलमा आइरहेका एक व्यक्ति मिश्रका अगाडि रोकिए ।

‘रवीन्द्र सर, नमस्कार,’ उनले भने ।

नमस्कार फर्काउँदै मिश्रले सोध, ‘तपाईं यहाँको मतदाता हो ?’ उनले आफू काठमाडौं बाहिरको मतदाता भएको बताए । ‘त्यसोभए एक भोट दिदी(दाजुलाई, एक भोट तराजुलाई ।’ मिश्रले प्रत्यक्षमा अरुलाई र समानुपातिकमा विवेकशीललाई भोट दिन अनुरोध गर्दै भने ।  ‘हामी अरु पार्टीबाट अघाइसक्यौैं, यसपालि नयाँ पार्टीलाई नै हाल्ने हो,’ उनले आश्वस्त तुल्याए ।  भेटिएका अन्य मतदाताहरुको पनि भनाइ उस्तै हुन्थ्यो, ‘अरु पार्टीले केही गरेनन्, अब तपाईंहरुलाई नै जिताउने हो ।’

 

लक्ष्मी दिदीको होटल आइपुगियो । होटल खचाखच थियो । नभन्दै कांग्रेस नेता, कार्यकर्ताहरु भेटिए । होमनाथ दाहाल, राधेश्याम अधिकारी लगायतका केही कांग्रेसी नेता अरु केही भद्र भलाद्मीहरुसँग कालो चिया पिउँदै थिए । मिश्रको टोली होहल्ला गर्दै भित्र प्रवेश गरेपछि उनीहरु ब्यूँझिए झैं भए ।

‘नमस्ते म रवीन्द्र मिश्र, काठमाडौं क्षेत्र नम्बर १ मा साझा विवेकशील पार्टीको उम्मेदवार बनेको छु, तपाईंहरुले साथ र सहयोग दिनुहुनेछ भन्ने आशा छ,’ मिश्रले ठेटरुपमा भोट मागे । ‘यतिबेला यहाँ तपाईंहरु जस्ता असल मान्छेहरु यहाँ भेटिनुहुन्छ भन्ने थाहा पाएर आएका हौं,’ मिश्रले बेञ्चमा आफूलाई राख्दै भने । घघडानहरु उजाड मुद्रामा उनलाई हेरिरहे ।

मिश्र एकतर्फीरुपमा बोल्न थाले ।  ‘मलाई थाहा छ, तपार्इंहरु राजनीतिकरुपमा एउटा पार्टीमा आवद्ध हुनुहुन्छ । तर, मेरो भनाइ के हो भने तपाईंहरु जुन राजनीतिक आस्था राख्नुहुन्छ, त्यो आस्थाले अब यो देशलाई अघि लैजान सक्दैन । तपाईंहरुले राजनीतिक आवद्धता परिवर्तन गर्ने बेला आइसकेको छ । मेरो आवद्धताभन्दा यो देश ठूलो हो, छोराछोरी र नातिनातिनाको भविष्य ठूलो हो भन्ने हो भने मत परिवर्तन गर्नैपर्छ ।’

मिश्र भन्दै गए, ‘आजभन्दा ५० वर्षअघि यो देशको पर क्यापिटा इनकम ३ सय डलर थियो । अहिले ७ सय ५० डलर भयो । अर्को ५० वर्षमा १२(१३ सय डलर होला । के हामी यत्तिमै खुशी भएर बस्ने ? त्यसकारणले गर्दा, हाम्रो भनाइ के हो भने अब तपार्इंंहरुले सोच्नुभएन भने देश उँभो लाग्दैन । छोराछोरी विदेश पठाउनुभएको होला । उनीहरु नेपाल फर्किँदैनन् । अनि यहाँ बुढेसकालमा सहयोगीले ओछ्यानमा ओल्टाई पल्टाई गर्नुपर्ने हुन्छ । के तपाईंहरु यस्तै जीवन चाहनुहुन्छ ?’

कुनै जवाफ आएन ।

‘अबको २० वर्षमा मेरा छोराछोरी स्वतस्फूर्तरुपमा नेपाल फर्किएर आए भने मैले गरेको राजनीति सफल भएको मान्नेछु । मेरा छोराछोरी बेलायतमै जन्मेका हुन् । सिटिजनसिप राइट थियो । छोराछोरीहरुको सिटिजनसिप पनि लिएको छैन । अहिले त साना भएर मैले त्यो गर्न सकेँ, ठूलो भएपछि उनीहरु मेरो बसमा हुँदैनन् । त्यतिबेला मैले उनीहरुलाई प्रेरित गरेर नेपाल फर्काउन सकेँ भने तपाईंहरुको उमेरमा म छोरानातिसँग हाँसी खेलेर अन्तिम सास फेर्न सक्छु, त्यत्ति हो । त्यसैका लागि म सबैथोक छोडेर राजनीतिमा उत्रेको हुँ ।’

‘म आफ्नो आकर्षक जागिर छोडेर छोडेर देश बनाउन लागेको छु । देश सम्पन्न नहुँदासम्म आफू सम्पन्न हुनुको अर्थ हुँदो रहेनछ । आफू अरबपति भएर के भो ? भोलि घरमा कोही बिरामी भएर ढल्यो भने अस्पताल पु¥याउनै पर्छ । बाटोमा ट्राफिक जाम भयो भने जसको पनि डेथ हुन सक्छ ।’

मिश्रले अगाडि भने, ‘ चाहेको भए म अरु कुनै पनि पार्टीमा जान सक्थेँ । पेशागत पृष्ठभूमि थियो, पहुँच थियो । तर, सिंगो राजनीतिलाई सुधार्नुपर्छ भनेर यहाँ लागेको हुँ । हामी अन्धकार बाटोमा दियो बोकेर हिँडेका छौं । हामी सफल हुन्छौं, हुन्छौं ।’  घरदैलोमा भेटिएका एक व्यक्तिले अहिले जनताले नयाँ नेतृत्व खोजेका छन् । पुराना सबै राजनीतिक भ्रष्टाचारमा लिप्त भए । सबैतिर फटाहाको जमात छ । तपाईंहरुलाई हामीले गर्ने सहयोग गरौंला । म यो टोलको अध्यक्ष पनि हँु । चिनेजानेकाहरुलाई भन्ने छु । मेरोतर्फबाट ढुक्क हुनुस् ।’ भन्दै आश्वासन पनि दिए ।  केही क्षणमै एक जना व्यक्ति भेट भयो अनि उसले भने ‘म ०४८ सालदेखि कांग्रेसमा छु, आजसम्म कांग्रेसबाहेक कसैलाई भोट हालेकै छैन,’ उनले भने, ‘तर, यसपालि मेरो मन बदलियो । मैले फेसबुकमा पनि तपाईंलाई समर्थन गरेर स्टाटस लेखिसकेँ ।’

उनले मोबाइलमा आफ्नो फेसबुक खोलेर स्टाटस देखाई पनि हाले । नभन्दै उनले लेखेकै रहेछन् ।
‘तपाईंलाई समर्थन गरेको भनेर मलाई कति कांग्रेसीहरुले गाली गरिरहेका छन्, तर मेरो र मेरो परिवारको भोट तपाईंलाई गयो गयो ।’
यस्तो भन्ने मतदाताहरु अरु पनि थुप्रै भेटेको छु,’ मिश्रले पंक्तिकारलाई सुनाए ।

मिश्रको घरदैलोको अनुभव
असाध्यै उत्साहजनक । आज तपाईंले पनि महसुस गर्नुभयो होला । बाटोमा भेटेको मान्छेले आएर अंगालो हाल्ने । २५ वर्षदेखिको कट्टर कांग्रेसी मान्छेले फेसबुकमा लेखेर तपाईंलाई साथ दिन्छु भन्ने । घरमा बोलाउने । असाध्यै उत्साहित छु ।

अहिलेसम्म भेटिएका मतदाताहरु
एक हप्ता भयो । ठ्याक्कै हिसाब त हामीले राखेका छैनौं । टोलका २०–२५ जना जम्मा गरेर पनि हरेक दिन, हरेक क्षण समयको उपयोग गरिरहेका छौं ।

मतदाताहरुले मिश्रकोे उम्मेदवारीलाई यसरी हेरे

एकदमै सकारात्मक रुपमा लिएको पाएको छु । कतिपयले त तपाईंजस्तो उम्मेदवार पाउनु हाम्रो सौभाग्य हो पनि भन्छन् । जुन किसिमबाट मलाई फोन आएको छ, घरदैलोमा स्वागत गरेका छन् । त्यो सबै हेर्दा आफ्नो जितमा विश्वस्त हुँदै गएको छु ।

भोट दिन्छु भन्ने सबैले भोट दिने या के गर्ने ?

सबैले भोट दिन्छन् भन्ने होइन । जसको मनै परिवर्तन नहुने हुन्छ, ‘ए ल ठिकै छ, शुभकामना छ’ भनेर चट्ट जानुहुन्छ । उहाँहरुको अभिव्यक्तिबाट मन परिवर्तन हुँदैन भन्ने थाहा हुन्छ । जसको मन परिवर्तन भएको छ, उहाँहरुको आँखाले, आवाजले, हाउभाउले, सबै कुराले बोल्छ ।

नयाँ मतदाताहरुलाई आकर्षित गर्ने रणनीति
हाम्रो पहिलो लक्ष्य भनेको चलायमान मतदाता, जसले गुण(दोषका आधारमा भोट दिन्छन्, उनीहरुलाई रिझाउने हो । खासगरी काठमाडौं क्षेत्र नम्बर १ ले यो बारम्बार देखाएको छ । जो प्रतिवद्ध मतदाता छन्, उनीहरुको पनि मन परिवर्तन होस भन्ने चाहेका छौं ।

 

स्थानीय चुनावको नतिजा हेर्दा विवेकशील र साझा दुवै पार्टीको मत हेर्दा निकै बलियो अवस्थामा देखिन्छ । त्यो भोटलाई जोगाउँछु भन्ने कति आशा छ ?

मलाई पूर्ण विश्वास छ । जोगाउँछु होइन बढाउँछु भन्ने छ । क्षेत्र नं. एकमा साझा र विवेकशीलको मत जोड्दा मेयरको चुनावमा कांग्रेस र एमालेको भन्दा बढी भोट ल्याएको हो । त्यसलाई अझै बढाउनेमा विश्वस्त छौं ।

काठमाडौं क्षेत्र नम्बर १ नै रोज्नुको कारण
मेरो पार्टीले निर्णय गरेको हो । क्षेत्र नम्बर ३ मा म जन्मे हुर्केको हुँ । त्यहाँबाट उठ्ने कि भन्ने थियो । तर पार्टीका साथीहरुले क्षेत्र नम्बर १ बाटै उठ्नुपर्छ भन्नुभयो । यहाँ मप्रति सदभाव राख्ने मान्छेहरुको असाध्यै ठूलो जमात छ । यहाँ गरेर देखाउने ठाउँहरु पनि छन् ।

पहिलो चुनावी अनुभव
नितान्त पहिलो चुनावी अनुभव हो । यसभन्दा अगाडि मेयरको चुनावमा किशोर थापाजीलाई भोट माग्न हिँडेको थिएँ । आफ्नै लागि भोट मागेको पहिलोपटक हो ।

 


प्रकाशित | २०७४ कार्तिक १० प्रकाशित ०४:०१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ