दाङमा रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु

८ माघ २०८०, सोमबार ०९:४१

काठमाडौं । बर्दियाबाट काठमाडौँ आउँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

प्रदेश ३, ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको थियो । दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ४७ जनामध्ये २ जना घाइते भएको र अन्यको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

मृतक दुई जनाको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसअघि दाङको राप्ती नदीमा पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।