राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकताः सभामुख सापकोटा

१२ मंसिर २०७७, शुक्रबार १४:३६

काठमाडौं , प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनु भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधि विधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गर्नु भयो ।

संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताउनु भयो । अर्को फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याउनु भयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर सङ्घीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गर्नु भयो । उहाँले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गर्नु भयो ।