आज सचिवालय बैठक बस्दै

२८ कार्तिक २०७७, शुक्रबार ०८:४५

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए ।

नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए ।

गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएपछि दाहाल–नेपाल समूहले आन्तरिक तयारीका लागि बिहीबार छलफल गरेका छन् । दाहाल निवास खुमलटारमा भएको छलफलमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठ सहभागी भएको नेकपा स्रोतको दाबी छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले समेत बालुवाटारमा आफू निकटका नेताहरूसँग बैठकको रणनीतिबारे छलफल गरेका छन् । बालुवाटारमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवं अर्थमन्त्री पौडेललगायतका नेतासँग ओलीलले छलफल गरेका छन् । नेकपा स्रोतका अनुसार दुवै समूहले एक अर्काविरुद्ध खरो रूपमा उत्रिने आन्तरिक तयारी गरेका छन् ।यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका हुन् ।