प्रतिपक्षको भूमिका कमजोर

२१ कार्तिक २०७७, शुक्रबार १०:२६


डा डिआर उपाध्याय,

कोभिड– १९ का कारण मुलुकको परिस्थिति गम्भीर मोडमा छ। जनता रोग र भोकबाट आक्रान्त छन । गरिब, निमुखा, वृद्ध, असहाय, बालक खान नपाएर भोकभोकै छन्। सरकार केवल आफ्नो पार्टीको आन्तरिक किचलो र सत्ता स्वार्थको राजनीतिमा मात्र केन्द्रित छ । सरकारलाई जनताको कुनै चिन्ता छैन । सरकार यति बेला जनताप्रति संवेदनशील बन्नु पर्दथ्यो, बन्न सकेन । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क नगर्ने भनेर हात झिकेको अवस्था छ । देशमा भ्रष्टाचार मौलाएको छ । मुलुक संकटग्रस्त अवस्थामा छ । सरकार आफ्ना नागरिकप्रति जिम्मेवार भएन । यस्तो बेलामा सरकारलाई सहि बाटोमा ल्याउन प्रतिपक्षको महत्वपूर्ण भूमिका हुन्छ। तर प्रतिपक्ष दल नेपाली काँग्रेस पनि लाचार बनेर बसेको छ । सरकारले सत्ता र शक्तिको आडमा गलत कामकारबाही गर्दा खबरदारी गर्ने काम प्रतिपक्षको हो। सरकारले गरेका गलत नीति र निर्णयबारे जनतालाई अवगत गराउँने भनेकै प्रतिपक्षको धर्म हो। संसद्मा प्रतिपक्षको भूमिका कमजोर भयो भने जनताको आवाज स्वतः कमजोर हुन्छ। संसदीय व्यवस्थामा प्रतिपक्षको महत्वपूर्ण भूमिका हुन्छ। संसदका विभिन्न समितिमा रहेर सरकारको गलत कामको खबरदारी गर्नु र राम्रा कामलाई प्रश्रय दिनु उसको कर्तव्य हो।अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत छ। सरकार उसैको हुने नै भयो। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ। तर प्रतिपक्षीले निर्वाह गर्नुपर्ने कैयौं भूमिका उसले निर्वाह गरेको छैन। प्रतिपक्षी दल हुनुका नाताले राज्यबाट पाउने सेवा, सुविधा लिने र संवैधानिक समितिमा बसेर पदीय बाँडफाँटमा मात्र सीमित रहेको देखिन्छ। सत्तासँग सधैं बार्गेनिङ गरेर प्रतिपक्षीको धर्म निर्वाह हुन सक्दैन। नागरिकको स्वास्थ्य सुरक्षाका हिसाबले सरकार अधोगति–उन्मुख छ र यही कारण सरकार असफल हुने खतरा बढ्दो छ।
युरोपका विकसित मुलुक दोस्रो चरणको लकडाउनमा प्रवेश गरेका छन्। उनीहरूले जाडो यामसँगै कोरोना भाइरसको संक्रमण अरू बढ्ने खतरा देखेका छन्। नेपालमा पनि जाडो बढ्दै जाँदा कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन ।