ओलीविरुद्ध संगीन आरोप सहितको एकल प्रस्ताव फिर्ता गर्नुहोस्ः पोखरेल

२९ कार्तिक २०७७, शनिबार ०९:४८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्न अनुरोध गर्नु भएको छ ।

सचिवालय बैठकमा प्रथम अध्यक्ष केपी ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत भएको भन्दै पोखरेलले त्यो फिर्ता गर्न प्रचण्डलाई अनुरोध गर्नु भएको हो ।

मुख्यमन्त्री पोखरेलले प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णय विपरित भएकोसमेत दाबी गर्नु भएको छ । उहाँले प्रस्ताव फिर्ता गरेर एकताको मर्म अनुरुप छलफललाई अघि बढाउनसमेत माग गर्नु भएको छ ।

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ’, फेसबुकमा स्टाटस लेख्दै पोखरेलले भन्नु भएको छ , ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’