हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

११ कार्तिक २०७७, मंगलवार १७:४३

हास्य कलाकार मनोज गजुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ। सोमबार साँझ फेसबूकमा स्टाटस लेखेर उहाँले आफू संक्रमित भएको बताउनु भएको हो ।

उहाँले बिहीबार सामान्य रुपमा टाउको दुखेको र शुक्रबार ज्वरो आएपछि पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताउनु भएको छ । बिहीबारदेखि नै घरमा आइसोलेसनमा बसिरहेको उहाँले जनाउनु भएको छ ।

गजुरेलले आफ्ना दाजुलाई अस्पताल लैजाने र ल्याउने गरेको र सोही क्रममा आफू संक्रमित भएको हुनसक्ने उल्लेख गर्नु भएको छ । उहाँले दाजुलाई पनि कोरोना पोजिटिभ देखिएको बताउनु भएको छ । आफ्ना बाबुनानीहरूलाई भने संक्रमणको कुनै लक्षण नभएको उहाँले जनाउनु भएको छ ।

आफूलाई कडा खालको लक्षण नदेखिएको र होम आइसोलेसनको कडा नियम पालना गर्दै घरेलु उपचार गरिरहेको उहाँले बताउनु भएको छ ।
गजुरेलले कोरोनालाई छिटै जित्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।