रुपन्देहीमा कोरोना संक्रमित दुईजनाको मृत्यु

५ कार्तिक २०७७, बुधबार ११:३७

लुम्बिनी, रुपन्देहीमा कोरोना संक्रमित दुईजनाको आज बिहान मृत्यु भएको छ।

कोरोना संक्रमित भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको हो।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताउनु भयो ।

उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान सवा ५ बजे मृत्यु भएको हो।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेसनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ।

लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिनु भयो ।