निर्घात कुटिनु भएका वडाध्यक्षको प्रश्न, हामी नै असुरक्षित भए यहाँ को सुरक्षित हुने ?

१५ आश्विन २०७७, बिहीबार ०९:२८

काठमाडौँ, निर्माणाधीन सडकको अनुगमनको क्रममा ठेकेदार पक्षबाट नै निर्घात कुटपिटमा परी सख्त घाईते हुनुभएका सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले कानुनी उपचार र न्याको लागि माग गर्नु भएको छ । असोज ७ गते बिहान करिव ८ बजे आफ्नै वडाको ३४२ मिटरको साँगाचोक डडुवा मोटरबाटो खन्डको अनुगमनमा रहेका श्रेष्ठमाथि २ जना गाउँकै व्यक्तिहरुले निर्घात कुटपिट गरेका थिए।

घटना पछि गम्भीर घाईते भएर बेहोस भएका श्रेष्ठलार्इृ उपचारका लागी तुरुन्त चौतारा अस्पतालमा लगियो । त्यस अस्पतालमा उपचार सम्भव नभए पछि काठमाडौं स्थित एभरेष्ट अस्पतालमा रिफर गरियो । एभरेष्ट अस्पतालमा ८ दिन सम्म उपचार गरी बुधबार श्रेष्ठ डिस्चार्ज हुनु भएको छ ।

डिस्चार्ज भएकै दिन उहाँले काठमाडौँको संवाद क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि कुटपिट गर्नेलाई कानुनी कारवाहीको माग गर्नु भएको छ । सडकको अनुगमन गर्न गएको बेला सडक टेन्डरमा रहेका र विगत देखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका सगुन उपनामले चिनिने सुर्य श्रेष्ठ र सुस्मिन श्रेष्ठले वडाध्यक्षको अनुगमन गर्ने अधिकार नभएको भन्दै अपशब्द प्रयोग गर्दै अन्धाधुन्ध पछाडीबाट लात्ती र मुक्का प्रहार गरेको पीडित श्रेष्ठले बताउनु भयो ।

कुटपिटमा परी श्रेष्ठको टाउकोमा रगत जमेको थियो रिपोर्ट आएपछि उहाँको एमआरआई र सिटीस्क्यान गरिएको थियो। ८ दिनको उपचार पछि उहाँको जमेको रगत फाट्दै गएको छ भने उहाँ उठ्न, बोल्न सक्ने हुनु भएको छ र डिस्चार्ज हुनु भएको छ । उपचारको क्रममा उहाँको कोरोना पिसीआर परीक्षण पनि गरिएको र रिपोर्ट नेगेटिभ आएपछि घरमै आराम गर्न सुरक्षित हुने डाक्टरको सल्लाहबमोजिम उहाँ डिस्चार्ज हुनु भएको हो ।

पत्रकार भेटघाटमा श्रेष्ठले आफूले शारीरिक उपचार पाए पनि मानसिक उपचार र न्याय पाउन नसकेको गुनासो गर्नु भयो । हालसम्म सम्पूर्ण उपचारको लागि उहाँको १ लाख २० हजार हाराहारीमा खर्च भईसकेको छ। घटनापछि फरार रहेका अभियुक्तलाई जतिसक्दो छिटो कानुनी कठघरामा ल्याएर क्षतिपूर्ति, उपचार खर्च र कानुनी कारवाहीको लागि शेर बहादुरका छोरा शनि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको बताउनु भयो ।

घटनापश्चात पीडितलाई न्याय दिलाउनका लागि सिंगो नगरपालिका टीम, पार्टी र सम्बन्धित निकाय लागिपरेको श्रेष्ठले बताउनु भयो । साथै घटना बारे सभामुख अग्निप्रसाद सापकोटा, प्रदेश मन्त्री युवराज दुलाल समेतलाई जानकारी गराईएको छ। उक्त घटना कुनै व्यक्तिगत सरोकारको मामला मात्र नभएर जननिर्वाचित जनप्रतिनिधिमाथिको हमला भएको कारण सामान्य नभएको श्रेष्ठकी पत्नी अन्जु श्रेष्ठले गुनासो गर्नु भयो ।